६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग थाले राजनीतिक परामर्श


केपी शर्मा ओली

काठमाडौँ, असार १८ । प्रधामन्त्री केपी शर्मा ओलीले पार्टी भित्र घेराबन्दीमा परेपछि अबको रणनीतिबारे पार्टीभित्र आफ्नो पक्षका नेताहरु तथा केही मन्त्रीसँग परामर्श थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका नेताहरुसँग बुधबार बिहानैदेखि छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल तथा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल र पृथ्वी गुरुङसँग ओलीले छलफल गरेका छन् । स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोध, विकसित घटनाक्रम र सङ्कट समाधानका विषयमा नेताबीच कसरी छलफल हुँदै आएको छ भन्ने विषयमा धारणा राखेका थिए ।

स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ज्यादा पहलकदमी लिनुपर्ने सुझाव सदस्यहरूले दिएका छन् । उहाँले अध्यक्ष ओलीबाट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गरेको परामर्श र पहलकदमीले पार्टीको अन्योल परिस्थिति सकारात्मक दिशामा जान्छ भन्नेमा आशावादी रहेको बताए ।

उनले आन्तरिक सङ्कटको समाधान पार्टी भित्रैबाट खोज्नुपर्ने र त्यसका लागि दुई अध्यक्षबीच राम्रो हार्दिक सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’ अन्त्य गर्न सुझाव दिए । उनले भने, “पार्टीको उच्च नेतृत्व तहमा चरम विश्वासको सङ्कट उत्पन्न भएको देखिन्छ । त्यसको समाधान आपसी संवाद र विमर्शबाहेक अन्यत्र खोज्न सकिन्न । उनले पार्टीले प्राप्त गरेको जनमतको रक्षा गर्दै आन्तरिक एकतालाई सुदृढ गर्नु आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिए ।

उनले भने, “एकताबाट भागेर कहीँ पुग्न सकिन्न । त्यो छुट कसैलाई पनि छैन । यसले दुर्घटना मात्र हुन्छ । अहिले उठेका समस्यालाई समाधान गर्दै नयाँ जगमा पार्टीलाई एकताबद्ध, नेताबीच हार्दिकता, विश्वासको वातावरण बताउनुपर्छ । ”उनका अनुसार छलफलमा पार्टी र सरकारबीचमा समन्वयात्मक र घनिष्ट सम्बन्ध हुनुपर्छ ।’’ यस्तै स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दुवै अध्यक्ष पार्टीको अभिभावक भएकाले आपसमा बसेर समाधान खोज्न अनुरोध गरेको बताए । उनका अनुसार नेकपा (एमाले) दर्ताबारे आफूलाई जानकारी नरहेको भन्दै मदन जयन्तीमा व्यक्त विचारका विषयमा समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे । उनले पार्टीभित्रको अन्तरविरोध छताछुल्ल भएर प्रकट भएको र त्यसलाई दुवै अध्यक्षले गम्भीर विश्लेषण र छलफल गरी टुङ्गोमा पुर्याउनुको विकल्प नरहेको बताए ।

यसैगरी स्थायी कमिटी सदस्य मणि थापाले पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउन र सबैलाई समेटेर लैजान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको भूमिका महत्वपुर्ण हुने सुझाव दिएको बताए । उनले भने, “पार्टी एकता गम्भीर सङ्कटमा छ । सरकारको आलोचना बढेको छ । यी सबैको समाधान खोज्न अर्का अध्यक्षसँग सल्लाह गरेर र अन्य नेतालाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दियौँ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष र प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !