१८ बैशाख २०८१, मंगलबार

बिहीबार बस्ने बैठकको रणनीति तय गर्न प्रचण्ड-माधव नेपाल समूहको झम्सिखेलमा भेला


प्रचण्ड-नेपाल समूह

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेलको एक रेस्टुरेन्टमा भेला भएका छन् । भोलि बस्ने स्थायी समिति बैठकमा कसरी रणनीति तय गर्ने भन्नेबारे छलफल गर्नको लागि भेला भएको हो ।

नेकपा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।

उक्त भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री राम बहादुर थापा लगायतका नेताहरु भेलामा उपस्थित छन् । उक्त भेलामा प्रचण्ड र नेपाल समूहका अधिकांश स्थायी समिति सदस्य पनि सहभगी छन् । मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको बुझिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक देखिएका गृहमन्त्री थापालाई आफ्नो कित्तामा ल्याउने प्रयास स्वरुप बैठकमा बोलाइएको स्रोतको भनाइ छ । यस्तै प्रचण्डले भोलि बिहान स्थायी कमिटिका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

स्थायी कमिटीको बैठक स्थगित भएको केही घण्टापछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु बेग्लै छलफलका लागि जुटेका हुन् । छलफलमा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरु समेत सहभागी छन् । सो छलफलमा प्रचण्ड, माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यहरु उपस्थित छन् ।

पछिल्लो समय पार्टीभित्र अन्तरविरोध चर्किन थालेपछि केपी ओली र प्रचण्ड दुबै पक्षका गुटका बैठकहरु सुरु भएका हुन् । बुधबार बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको भेला गराएपछि बेलुका प्रचण्ड नेेपाल पक्षले पनि गुटको बैठक डाकेको हो । आज बुधबारै बिहान ११ बजेपछि बसेको स्थायी कमिटीको बैठक ५ जना नेता बोलेपछि विहीबार पुनः बस्ने गरी स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !