६ जेष्ठ २०८१, आइतबार

बाम गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँड टुंगियो, झापा-३ मा राप्रपालाई सहयोग गर्ने


कात्तिक १५, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सबै क्षेत्र बाँडफाँडको टुंगो लगाएका छन् । दुवै दलका शीर्ष नेताहरुले सहमतिकै आधारमा सबै क्षेत्र बाँडफाँडको टुंगो लगाएका हुन् । यसअघि केही क्षेत्रमा सहमति जुट्न नसकेपछि शीर्ष नेताहरुकै पहलमा सबै क्षेत्र बाँडफाँड टुंगो लगाइएको हो ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादी केन्द्रले ६१ र राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले ७ सिट पाउने भएका छन् । प्रदेशसभामा एमालेले १९८, माओवादी केन्द्रले १२८ र गठबन्धनमा सहभागी अन्य दलले ४ सिट पाउने भएका छन् । क्षेत्र बाँडफाँडको टुंगो लागेसँगै उम्मेदवारको नाम तय गर्न गठबन्धनमा आबद्ध दलहरु सक्रिय भएका छन् । एमाले र माओवादी केन्द्रले आजसम्म सबै क्षेत्रका उम्मेदवारसमेत घोषणा गर्ने जनाएका छन् ।

यसअघि विवाद देखिएको चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सहमति भएको छ । सोही क्षेत्रमा दाबी गरेका नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं १० बाट उठाउने सहमति भएको छ । त्यसैगरी विवादमा परेको सल्यानमा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रले टेकबहादुर बस्नेतलाई उठाउने भएको छ । प्रदेशमा भने एमाले नेता प्रकाश ज्वाला र गुलाबजंग शाहलाई उठाउने सहमति भएको छ ।

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उठाउने सहमति भएको छ । त्यसैगरी विवादित बन्दै आएको झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता राम कार्कीलाई उठाउने सहमति भएको छ । क्षेत्र नम्बर २ मा एमालेका अग्नी खरेल वा पवित्रा खरेलमध्ये एक जनालाई उठाउने सहमति भएको छ भने झापाकै क्षेत्र नम्बर ३ मा वामगठबन्धनले राप्रपालाई सहयोग गर्ने भएको छ । यो क्षेत्रबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने सहमति भएको छ । अब लिङ्देनले वामगठबन्धनको साथ लिएर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

झापा क्षेत्र नं. ४ बाट एमालेका एलपी साँवा र ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको टुंगो लागिसकेको छ । त्यसैगरी सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले तथा प्रदेशसभामा माओवादीले पाउने गरी सहमति भएको छ । दैलेखमा प्रतिनिधिसभा र प्रदेशको एउटा क्षेत्र एमाले र प्रदेशसभाको एउटा क्षेत्र माओवादी केन्द्रले लिने सहमति भएको छ । यसैबीच नेपाली कांग्रेस र मधेस केन्द्रीत दलहरुबीच चुनावी तालमेलका लागि कसरत भइरहेको छ । दुवै पक्षबीच प्रदेश नम्बर २ का ३२ निर्वाचन क्षेत्र बाँडफाँडमा समस्या देखिएको छ ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच सिट बाँडफाँडमा सहमति भए पनि कांग्रेससँग सहमति जुट्न सकेको छैन । दुवै पक्षले यो प्रदेशका ३२ सिटमध्ये २० सिट पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर सहमतिको प्रयास गर्दा फोरम र राजपा १८ सिटमा झरे पनि कांग्रेससँग सहमति बन्न सकेको छैन । सहमति नजेटे शीर्ष नेताको ठाउँमा मात्रै तालमेल गरी अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्ने दुवै पक्षबीच समझदारी भने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !