काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौं सुनसान देखिएको छ । अत्यावश्यक बाहेक सबै सवारीलाई प्रहरीले कडाइका साथ रोकेको छ । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।
हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।
उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढेपछि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज बिहान ६ बजेदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।
यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरी काठमाडौँको विभिन्न स्थानमा घर बाहिर निस्केका सर्वसाधारणलाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।
तस्वीर : प्रदीपराज वन्त र चन्द्रकला क्षेत्री, रासस