९ असार २०८१, आइतबार

एसपीपीको गाँठो फुकाउन विमान चार्टर्ड गरेर भारत हुँदै डोनाल्ड लु आए नेपाल


डोनाल्ड लु

काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन् ।

अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाडौं आएका हुन् । लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ। ‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवद्र्धन गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले नागरिक समाज, सरकारका अन्य व्यक्ति र उद्योगपतिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उनले यसअघि गत मंसिरमा नेपाल भ्रमण गरेका थिए ।

नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको करिब एक महिनापछि लु नेपाल भ्रमणमा आएका हुन् । यसकारण पनि उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । यद्यपि नेपाल सरकारले अमेरिकालाई औपचारिक पत्रचार भने गरिसकेको छैन । सरकारले असार ६ मा एसपीपीलाई अघि नबढाउने निर्णय गरेको थियो ।

यद्यपि सरकारले हालसम्म अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेर जानकारीसमेत गराइसकेको छैन । एसपीपी अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले सरकारलाई दबाब दिए पनि प्रधानमन्त्री देउवाले भने बेवास्ता गर्दै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि एसपीपीबारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि प्रधानमन्त्री देउवाले बेवास्ता गर्दै आएका छन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा राधा खनालले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !