१४ बैशाख २०८१, शुक्रबार

विभाजनको संघारमा जसपा : लुम्बिनीमा को बलियो ?


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ ।

जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति कसरी आफूमा अड्याउने भन्नेमा भट्टराई र यादव पक्षबीच रस्साकस्सी चलेको छ। यो कसरत लुम्बिनी प्रदेशमा पनि नेताहरुले थालेका छन्।

तथापि यो प्रदेशमा भने उपेन्द्र यादवको समूह बलियो देखिने पक्का-पक्की जस्तै भएको छ। यो प्रदेशबाट जसपाका ३ जना कार्यकारीणी सदस्य छन्। यी तीन मध्य एक जना उपेन्द्र यादवको पक्षमा रहने देखिन्छ भने एक कार्यकारीणी सदस्य भट्टराईको पक्षमा जाने र अर्का अर्का एक भने अहिले अनिर्णीत रहेको जसपा स्रोत बताउँछ।

मोहम्मद ईस्तियाक राई उपेन्द्र यादवकै समूहमा छन्। त्यसोत, पूर्वमन्त्री समेत रहेका उनी यसअघि भने भट्टराई पक्षधर थिए। थतर पछिल्लो समय उनी उपेन्द्रको समूहमा सामेल भैसकेका छन्। स्रोतका अनुसार जसपाका मन्त्री फेरबदलका क्रममा आफ्नो पालो आउने देखिएपछि राई भट्टराईलाई छोडेर उपेन्द्र क्याम्पमा जोडिएका हुन्।

राईको यो निर्णयले उपेन्द्र यादव समूहलाई प्रदेशमा बलियो बनाएको छ। बाँकेका उनी पार्टी केन्द्रदेखि प्रदेश तहसम्म राम्रो प्रभाव राख्न सक्ने नेता हुन्। जसपाले हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा पार्टीका नयाँ अनुहारलाई पठाउने गरी तयारी गरिरहेको छ।

नयाँ मन्त्रीहरुको बारेमा छलफल गरिरहेको बताइएको जसपाबाट नयाँ मन्त्रीका रुपमा पुनः राई जाने सम्भावना उच्च रहेको जसपाका एक नेताले बताए। राईले पनि भट्राई समूह छोडेपछि यो प्रदेशमा भट्टराई समूहको नेतृत्व गर्ने बलियो नेताको समेत अभाव रहने देखिन्छ।

यसैगरी जसपाका अर्का केन्द्रीय कार्यकारीणी सदस्य नवराज सुवेदी भने बाबुराम भट्टराई समूहमै रहने सम्भावना उच्च छ। किनकी उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुरामसँगै जसपामा समाहित भएका नेता हुन्।

यसैगरी अर्की कार्यकारीणी सदस्य अमृता अग्रहरीको औपचारिक निर्णय भने आइनसकेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव बताउँछन्। यस्तै यो प्रदेशका दुई प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई र अमृता अग्रहरी हुन्।

राईले उपेन्द्र यादव समूह रोजेसँगै प्रतिनिधिसभा सदस्यमा यो प्रदेशबाट उपेन्द्र यादव समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ भने अहिलेसम्म कुन समूहमा जाने भनेर निर्णय गरिनसकेकी अग्रहरी भट्टराई समूहमा सामेल भए भट्टराईको समूहको पनि प्रतिनिधित्व यो प्रदेशबाट हुने छ।

अग्रहरी समानुपातिक सांसद हुन्। तर प्रदेशसभामा भने भट्टराई समूहको प्रतिनिधित्व शून्य रहने उच्च सम्भावना छ। लुम्बिनी प्रदेशमा जसपाका चार सांसद छन्। यी चार मध्ये सबै सांसद आफ्नै समूहका रहेको दाबी उपेन्द्र समूहको छ। जसपका चार सांसद रहेको यो प्रदेशमा तीन जना मन्त्री बनेका छन्।

सहसराम यादव, सुमन शर्मा, पूर्मति ढेंगा मगर र निर्मला मुडवरी प्रदेश सांसद हुन्। यी मध्ये याादव, शर्मा र ढेंगा मगर मन्त्री हुन्। अहिले दल फेरबदल गरिए मन्त्री तथा सांसद पद खोसिने खतरादेखि यहाँका प्रदेश सभा सदस्यहरु सचेत छन्। फलतः जसपाका यी सांसदहरु उपेन्द्र समूहमै कायम रहँदै आफ्नो सांसदको कार्यकाल पूरा गर्न चाहन्छन्।

त्यसोत, यसअघि जसपाले प्रदेशसभामा स्थापित गरेको नजिरले पनि प्रदेश सांसदहरुलाई झस्काएको छ। यसअघि जसपाले गरेको कारबाहीका क्रममा तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकारमा मन्त्री बनेका तीन जनाको सांसद पद समेत खोसिएको थियो। पार्टीको ह्विप तोड्दै तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल विरुद्धको अविश्वासको प्रस्तावका बिरुद्ध मतदान गरेपछि तीन सांसदको पद नै खोसिएको थियो।

अहिलेका चार सांसद मध्ये तीन मन्त्रीले यसर्थ पनि पार्टी फेरबदल गर्ने सम्भावना रहन्न। यसैगरी अर्का एक सांसदले पनि जसपा भित्रको कारबाहीको पुरानो दृष्टान्तले उपेन्द्र समूह छोड्न नसक्ने जसपा स्रोत बताउँछ। यसैगरी प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको संख्या पनि ५०/५० प्रतिशतको हारामारीमा विभाजित हुने उपेन्द्र समूहको दाबी छ।

प्रदेश अध्यक्ष अशोक यादवका अनुसार केन्द्रीय सदस्य चयनका क्रममा भट्टराई समूहका बढी चयन भएका थिए। तर, यी मध्य पनि पचास प्रतिशत केन्द्रीय सदस्यहरु आफूहरुको समूहमा आउने दाबी उनको छ । यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !