काठमाडौं । गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे । तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन ।
विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ। प्रहरीले जनाएअनुसार काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोट डाँडापौवामा डेरामा बस्ने ३८ वर्षीय भीममान प्रधानको परिवारको कथा हो यो।
काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेका हुन् ।
‘उहाँहरूको यो किसिमको अवस्था देख्दा हामीले पनि चित खाएका छौं । गरिबीका कारण यस्तो अप्रिय निर्णय लिनु निकै चिन्ताजनक छ,’ उनले भने, ‘गरेको काम सफल नहुने र परिवारका मुख्य सदस्य नै बिरामी भइरहने समस्या रहेछ। त्यसैकारण सामूहिक आत्महत्या गर्ने अवस्थामा पुग्नुभएको रहेछ।’
भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन् । यो समाचार आजको नागरिक दैनिकमा समाचार छ ।