३ असार २०८१, सोमबार

प्रचण्डको दोहोरो चरित्र : गठबन्धनमा ओके, बाहिर चर्को विरोध


प्रचण्ड र देव गुरुङ

काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि घोषणा गरे- ‘म ओरिजिनल माओवादी होइन।’ त्यति बेला उनी नेकपाका दुई अध्यक्षमध्ये एक थिए। एमालेतर्फका नेता/कार्यकर्ताको मन जित्नु थियो ।

त्यही भएर चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रममा पनि ‘असान्दर्भिक’ विषय उप्काएर राजनीतिक माहोल तताए । परिस्थिति अनुसार आफू र पार्टीलाई ढाल्न सक्ने ‘चलायमान’ नेताका रूपमा चिनिन्छन् दाहाल।

एमसीसीका सन्दर्भमा त दाहालले आइतबार पाँच ‘अवतार’ देखाए । एमसीसी संसद्मा लैजान बिहान सत्ता गठबन्धनमा सहमति जनाए। क्षणभरमै प्रमुख सचेतकमार्फत असहमति जनाउन लगाए । पार्टीका अर्थमन्त्रीलाई संसद्मा अनुपस्थित गराए। सम्झौता टेबल भएपछि पनि पारित गर्न नदिने’ धारणा सार्वजनिक गरेर फेरि ‘भ्रम’ फिंजाए। दाहालले एकै दिन गराएका यी घटनाक्रम कुन ‘ओरिजिनल र कुन डुब्लिकेट’ थिए भन्ने छुट्याउनै कठिन छ ।

गठबन्धनमा ओके, बाहिर विरोध

दाहालले आइतबार बिहान गठबन्धनको बैठकमा नेता नारायणकाजी श्रेष्ठलाई लगेनन् । यसअघि नछुट्ने नेतामा पर्थे श्रेष्ठ। उनले कुनै पनि हालतमा एमसीसी संसद्मा लैजान नहुने बताउँदै आएका थिए । उनले सामाजिक सञ्जालमार्फत एमसीसीको विपक्षमा मत जाहेर गरे ।

दाहालले ‘चलाखीपूर्ण रूपमा सहमति जनाएकै कारण सभामुखले संसद्को कार्यसूचीमा एमसीसी राख्ने निर्णय सुनाए । जबकि माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्न नहुने भन्दै कार्यव्यवस्था परामर्श समितिमै ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए । तर, दाहालको ‘साथ’ पाएपछि माओवादीको विरोधबीच पनि कार्यसूचीमा एमसीसी चढाउन तयार भए सभामुख । यसअघि भने सभामुखले ‘राजनीतिक सहमति नजुटेसम्म’ कार्यसूचीमा नराख्ने बताउँदै आएका थिए ।

प्रमुख सचेतकमार्फत असहमति

दाहालले गठबन्धनमा सहमति जनाए पनि कार्यव्यवस्थामा विरोध जनाउन लगाए । प्रमुख सचेतक गुरुङले संसद्मा टेबल गर्ने प्रक्रियामै असहमति जाहेर गरे । त्यति मात्र होइन, दाहाल उपस्थित प्रतिनिधिसभा बैठकमै गुरुङले विरोध गर्न समय मागे । उनले एमसीसी टेबल गर्न नहुने धारणा सुनाए । _ ‘बाहिर जनता आन्दोलित छन्,’ गुरुङले भने, ‘एमालेको अवरोध कायमै छ । राष्टहितविपरीत छ। सदनमा टेबल गर्ने र अनुमोदन गर्ने भन्ने कुरा पनि छैन। कार्यव्यवस्थामा पनि असहमति दर्ज गरेका छौं। यसलाई टेबल नगरौं ।’

यो घटना संसदीय राजनीतिमा शोभनीय नभएको कांग्रेसका नेता बताउँछन् । ‘प्रचण्डजी पार्टीको दलका नेता हो नि,’ कांग्रेसका एक सांसदले भने, ‘दलका नेताले भनेको नमान्ने पनि प्रमुख सचेतक हुन्छन् र ? आजको दोहोरो चरित्र राम्रो भएन ।’

अर्थमन्त्री अनुपस्थित

एमसीसी अघि बढाउने निर्णयलगत्तै अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘बिरामी’ परे । अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा पेस गर्ने निष्कर्षमा सरकार पुग्यो । अर्थमन्त्री शर्मा संसद्मा देखा परेनन् । सञ्चारमन्त्री कार्कीले एमसीसी पेस गरिरहँदा सत्तासीन माओवादीकै प्रमुख सचेतक गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरालगायत नेताले कुर्सीबाट उठेर विरोध जनाए ।

सत्तारुढ घटक जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले माओवादीको द्वैध चरित्रले अचम्मित पारेको बताए । ‘साँच्चै एमसीसीको विरोध गरेको हो भने सरकार छोड्नुपर्यो । यसरी द्वैध चरित्र देखाउनु भएन,’ नेता खतिवडाले भने, ‘एमसीसी मुख्यालयलाई चिठी लेख्ने अनि सडकमा कार्यकर्ता उतारेर बितन्डा मच्चाउने ? प्रचण्डले सर्वाधिक गैरजिम्मेवार हर्कत गरिरहनुभएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्ले, राधा खनाल र तारा चापागाईंले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !