काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो ।
एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि विवाह नै गर्ने निधोमा पुगे । घण्टौं प्रेमका कुरा हुन्थे । जसले ‘विवाह गरिहाल्न’ उनीहरूलाई उत्साहित पारिरहन्थो ।
परियार साउदी अरब, राई भोजपुरमा । प्रेमप्रति अगाध विश्वास । उनीहरूको प्रेमलाई ‘न भूगोलले छेक्यो, न त जात’ले नै । विवाहको तगारो थियो त भौतिक उपस्थिति मात्रै ।
परियार स्वदेश फर्कन खोजे तर मिलेन । यसपछि उनीहरूबीचको सहमतिअनुसार ७/८ महिनाअघि राई भोजपुरबाट रोल्पा पुगिन् । परियारकै घरमा बसिन्, परिवार चलाइन् । प्रेमीले विदेशबाट पठाएको रकम सदुपयोग गरिन् । छरछिमकले जेसुकै भनून् खासै महत्व दिइएन । किनकि, निकट भविष्यमै उनीहरूबीच विवाह गर्ने योजना थियो । प्रेम विवाहमा परिणत गर्ने उनीहरूको एउटै लक्ष्य थियो ।
भनिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ यही विश्वाससाथ प्रेमिका राई ‘औपचारिक विवाह’ नै नभई परियारकी ‘श्रीमती’ बनिसकेकी थिइन् । परियारको परिवारमा थिए । एक्लो जीवन बिताइरहेका ८७ वर्षीय बाबु भाइराम दमाई मात्रै । राई ‘बुहारी’का रूपमा आएपछि भाइराम पनि मख्ख थिए । ससुराको रेखदेखदेखि घरगृहस्थीसम्म सम्हालेकी थिइन्, राईले । यसले परदेशमा रहेका परियारलाई सन्तोष मिलेको थियो ।
जीवनमा एकैपटक पनि ‘भौतिक’ रूपमा नदेखेका महिलाले आफ्नो घर सम्हालेको, वृद्ध बाबुको स्याहारसुसार गरेको कुराले प्रेमिकाप्रति परियारको विश्वास अगाध बढ्यो । यो समाचार राजधानी दैनिकमा छ ।