२३ मंसिर २०८१, आइतबार

सर्वोच्चद्वारा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज


दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । सर्वोच्च अदालतले प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।

प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो । प्रसाईंको रिट खारेज भएसँगै उनी हिरासतमुक्त नहुने भएका हुन् ।

आज बुधबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले प्रसाईंका छोरा निराजनले दायर गरेको रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई यही मंसिर ४ मा पक्राउ गरेको थियो ।

बुधबार उनलाई अदालतमा उपस्थित गराएर हिरासत फर्काइएको थियो । सर्वोच्चबाट रिट खारेज भएसँगै प्रसाईंले अब सरकारी वकिलबाट रिहाइ नभएर अदालतमा मुद्दा दायर भएपछि हुने थुनछेक आदेश कुर्नुपर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !