८ बैशाख २०८१, शनिबार

गठबन्धनमा सहमति नजुट्दा तनावमा प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकारलाई अघि बढाइरहेका छन् । त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आएका छन् । उनले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको लिस्ट दिन नेताहरूलाई आग्रह गरिरहेका छन् ।

‘प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारमा एकदमै चिन्तित हुनुहुन्छ, कसरी हुन्छ पहिले मन्त्रिपरिषद् विस्तार गरौं भन्नेतर्फ उहाँको ध्यान छ तर गठबन्धन आबद्ध दलका नेताहरूको एकपछि अर्को वाहनाले प्रधानमन्त्रीलाई सकस परिसकेको छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।

तर, गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूले भने प्रधानमन्त्री देउवालाई मन्त्रीको लिस्ट दिन सकेका छैनन् । उनीहरूले मन्त्रीका आकांक्षी धेरै भएको र संख्यासमेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् ।

‘प्रधानमन्त्रीले बिहीबारदेखि नै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम माग्दै आउनु भइरहेको छ तर संख्या कम भयो । पुग्दैन भन्ने कुराले लिस्ट प्रधानमन्त्रीलाई दिइएको छैन, उपप्रधानमन्त्रीमा पनि बार्गेनिङ भइरहेको छ,’ ती कांग्रेस नेताले भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । ‘प्रधानमन्त्रीले नाम मागिसक्नु भएको हो तर पाउनुभएको छैन । केही दिनमा नै मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री लागिरहनु भएको छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

त्यसो भए प्रधानमन्त्रीलाई अप्ठेरो कहाँ प¥यो त ? कांग्रेसका प्रधानमन्त्री निकट रहेका एक प्रभावशाली नेताले सत्ता गठबन्धन आबद्ध दल नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्रीको संख्यामा बार्गेनिङ गरेपछि समस्या भएको जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !