अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो ।
सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेसले एमसीसी सहमतिबाटै पास गर्ने नीति लिएको छ । तर, माओवादी केन्द्रले भने एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनमा नै आशंका व्यक्त गरेको हो ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनमा नै आशंका व्यक्त गरेका हुन् ।
दाहालले आफू गठबन्धन जोगाउन र देशलाई क्षति नहुनेगरी एमसीसीको समाधान गर्न अघि बढिरहेको भन्दै देशभित्रबाट पनि र देशबाहिरबाट पनि गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताए ।
‘गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ, देशभित्र र बाहिरबाट एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन एकथरि लागिरहेका छन्,’ उनले भने । उनले मंगलबार वाईसीएलको भेलामा भने अमेरिकाले ११ बुँदे कूटनीतिक नोटको जवाफ नपठाए एमसीसी पास हुनै नसक्ने बताएका थिए ।
गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले संशोधन नगरी यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताउँदै आइरहेको छ । यसैगरी, पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्येको एक दल राष्ट्रिय जनमोर्चाले त एमसीसीको विरोधमा सडक संघर्षको घोषणा नै गरिसकेको छ ।
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपालको राष्ट्रहितका पक्षमा नरहेको भन्दै संशोधन गरिए पनि स्वीकार गर्न नसकिने बताए । ‘एमसीसी नेपालको हितमा छँदै छैन, यसलाई संशोधन गर्ने भनेको के हो ?, मैले बुझेको छैन, संशोधन गरे पनि मान्न सकिन्न,’ केसीले भने । याे समाचार राजधानी दैनिकमा छ ।