५ जेष्ठ २०८१, शनिबार

भरियाका माध्यमबाट सुन तस्करी


सुन

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन। सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन्।

कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन्। तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्।

अरू मुलुकबाट पनि छिटफुट मात्रामा अवैध रूपमा आइरहेको भए पनि दुबईबाट आएको सुन बढी बरामद हुने गरेको छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। विमानस्थलको आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।

प्रहरीका अनुसार सो सुन विदेशबाटै आएको हो। यस प्रकरणमा पक्राउ परेका व्यक्ति भरिया हुन्। विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव लक्ष्मी निरौलाका अनुसार धेरैजसो भरियामात्रै पक्राउ परेका छन्।

विमानस्थल कार्यालयको अभिलेखअनुसार तस्करीको सुन बोकेर आउनेबाट ५० ग्रामदेखि ११६५ ग्रामसम्म सुन बरामद हुने गरेको छ। विगत ९ महिनामा विमानस्थलबाट करिब १२ केजी सुन बरामद भएको छ। विदेशबाट आउँदा एक सय ग्रामसम्म सुन ल्याउन पाइन्छ। एक सय ग्रामसम्म सुन भन्सार शुल्क नतिरी ल्याउन पाइने भएकाले पनि तस्करले त्यसको फाइदा उठाउने गरेका छन्।

उनीहरूले विदेशबाट नेपाल आउनेलाई केही रकम दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन्। विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोला पनि तस्करीको मूल व्यक्ति पक्राउ नपर्ने तर भरियामात्रै समातिएको स्वीकार गर्छन्।

भन्सार कार्यालयले दिएको विवरणअनुसार साउन २१ गते बिहान साउदी अरबबाट काठमाडौं आएका सिरहाको धनगढीमाई नगरपालिका– ८ का २४ वर्षीय ऋषभ महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परेका थिए।

भन्सार कार्यालय र प्रहरीको संयुक्त पहलमा उनी पक्राउ पर्दा प्रहरीले ८ वटा बाला र २ वटा औंठी गरी ४७४ ग्राम सुन बरामद गरेको थियो। उनको साथबाट बरामद भएको सुन त्यसदिनको बजार मूल्यअनुसार करिब ३७ लाख ३८ हजार ६ सय ७५ रूपैयाँको थियो। त्यस्तै, साउन १२ गते दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारको साथबाट १ किलो १६५ ग्राम सुन बरामद भएको थियो।

हिमालय एयरको उडानबाट आएका उनको सुटकेसको भन्सार जाँच क्रममा एक्सरेले शंकास्पद देखाएको थियो। त्यसपछि त्यहाँका कर्मचारीले प्रहरीको रोहबरमा सुटकेस खोलेर हेर्दा कफी बनाउने मेसिनमा सुन फेलापरेको थियो। तीनवटा पत्र रहेको मेसिनको बीचको भाग सुनको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !