तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ।
बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा दाहालले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तर्क गरेका थिए। उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारका रूपमा व्याख्या गरेका छन्।
प्रतिवेदनमा दाहालले पार्टीको राजनीतिक वैचारिक धार परिवर्तन गर्नेसमेत उल्लेख गरेका छन्। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनसम्म राजनीतिक वैचारिक धार बलियो बनाउने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा माओवादी नेतृत्वले मुलुकको राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको दाबी पनि गरिएको छ। अब उसले यसलाई संगठनात्मक शक्तिका रूपमा रूपान्तरण गर्ने सोच बनाएको छ। ‘
दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको भन्दै गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम पनि आफ्नो पार्टीले नै गरेको दाबी गरेका छन्।
दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्।
दाहालले माओवादी केन्द्रमा वैचारिक समस्या कम रहेको दाबी पनि गरे। दाहालले नेकपाको विगत तीनवर्षे कार्यकालको पनि समीक्षा गरे। नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै वैचारिक संघर्ष गरेको दाबी उनको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।