काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।
सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।
सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ ।
ती प्रहरी अधिकारीका अनुसार दोषी प्रहरीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाही सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्न मुख्य भूमिका हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको देखिएको हो । उनीहरू दुवैलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । उनीहरू दुवैलाई आन्तरिक नियन्त्रणमा राखेरै अनुसन्धान गरिएको थियो । सो क्रममा शाहको भाइबरमा नै प्रश्नपत्र भेटिएको थियो भने त्यसपछि यूएन शाखाबाटै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।
गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि प्रि–स्याट परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।
तर १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गरेको थियो । तर, अब प्रधान कार्यालयले दुवै परीक्षा रद्द गर्ने तयारी गरेको छ ।
छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको थियो । डीएसपी पाठक र खड्का परीक्षार्थी थिए । खड्का भने केही समयअघिसम्म यूएन शाखामा नै कार्यरत थिए ।
प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी पाठक भने यो प्रकरणमा दोषी देखिएका छैनन् । उनले नै परीक्षाको प्रश्नपत्र हातमा आइलागेपछि प्रश्नपत्र बाहिरिएको सूचनाबारे उच्च तहमा जानकारी गराएका थिए ।
प्रि–स्याटको प्रश्नपत्र भने यूएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाको दराजमा थियो । उनी नभएको मौकामा प्रश्नपत्र चोरी भएको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।