काठमाडौं । पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए।
कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें। ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ। स्पष्टीकरण पठाउनुपर्दैन भन्ने खबर आएको छ रे। तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ’, उनले भनेका थिए।
त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे। त्यसपछि नेपालको मनस्थिति फेरियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।