८ मंसिर २०८१, शनिबार

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’


ओली र नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ। नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ। नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए।

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने। नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ।

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए। ‘१० बुँदे सहमति गरेका छौं। यसलाई टुंगोमा पु¥याउनुपर्छ। अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए।

नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ। ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !