७ मंसिर २०८१, शुक्रबार

एमाले विवाद मिलाउन नेताहरू सक्रिय, सहमति नजिक पुगेको दावी


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौ । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।

एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ । बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बताए ।

“दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निस्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उनले भने । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उनले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई छ ।

त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताएका थिए । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उनको छ । नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका हुन् ।

बैठकमा विभिन्न कोण र विकल्पबारे छलफल भएपनि ठोस निस्कर्षमा पुग्न अझै नसकिएको स्थायी कमिटी सदस्य नेम्वाङले बताए । पार्टी फुटको पक्षमा दुवै पक्ष नरहेकाले केही न केही विकल्पमा पुग्ने लक्ष्यसाथ छलफल भइरहेको उनले बताए । बैठक सकारात्मक ढङ्गले अघि बढेकाले निस्कर्ष नजिक आफूहरु रहेको उनको भनाई छ ।

छलफलमा सहभागी नेता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले बैठक निरन्तर चलिरहेको र चाँडै केही न केही निकास निस्कनेमा आफू विश्वस्त रहेको बताए। बैठकमा विभिन्न कोणबाट छलफल भएपनि ठोस निस्कर्षको आधार भने अझै फेला नपरेको उनले बताए । नियमित छलफलबाट सहमतिको उपाय निस्कने उनले बताए ।

दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओली पक्षबाट नेम्वाङ, नेताहरु विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल बैठकमा सक्रिय छन् । त्यस्तै नेता नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीमप्रसाद आचार्य छलफलमा रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !