काठमाडौं । कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड–१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिए । सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उनले दिए ।
आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ ।
सुरुङ खन्ने कामलाई निरन्तरता दिन अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै उनले निषेधाज्ञाका कारण रातको समयमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।