७ बैशाख २०८१, शुक्रबार

रेशम चौधरीसहित २१० जनालाई रिहा गर्न जसपाले बुझायो सूची


रेशम चौधरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्।

२४ थान मुद्दामा अभियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा.झाले बताए। जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ। २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ। सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ।

यसअघि जसपाले नाम संकलन गर्न गृह मन्त्रालयबाट फाराम लिएर जिल्ला–जिल्लामा पठाएको थियो। जिल्ला–जिल्लामा फाराम भराएर संकलन गरिएका नामको सूची जसपाले गृहमा बुझाएको हो। फाराममा मुद्दा लगाइएका व्यक्ति, मुद्दा दर्ता गरिएको अदालत, हाल मुद्दाको अवस्थालगायत विवरण खुलाइएको छ।

जसपाले सरकारसँग पाँचवटा माग राखेको छ। जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ। यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ। विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको नेता झाले बताए। यो समाचार आजको नागरिक दैनिकमा  भुवन शर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !