६ बैशाख २०८१, बिहिबार

ओली-नेपालको ४७ वर्ष लामो माया-पिरती पारपाचुके नजिक

ओली-नेपाल अव नदीका दुई किनारा


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौँ । प्रसिद्ध गायक दिपक खरेलले गएको एउटा कर्णप्रिय, मर्मस्पर्सी र सदाबहार एउटा गीत छ – प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ, कहिले हसाँउछ कहिले रुवाउँछ, आँसु र हाँसोको संगम पनि गराउँछ ।

हो समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । अव प्रतीक्षाको घडी पनि समाप्त भएजस्तो अनुभूति हुन थालेको छ । यी दुवै नेताको ४७ वर्ष लामो माया-पिरती पारपाचुके नजिक पुगेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन् ।

पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएपछि नेता नेपालले ओलीसँगको साढे ४ दशकभन्दा लामो सम्बन्ध एकै रातमा नटुट्ने बताएका थिए । तर ओलीले नेपालको त्यो भावुकतालाई बुझेनन्, बरु कारबाही प्रक्रिया नै अघि बढाए । झापा आन्दोलन हुँदै को–अर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोअर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँ बस्न नसक्ने अवस्था पैदा भएको छ ।

मदन भण्डारीको मृत्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरूमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर डेढ वर्षअघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरूलाई करिबकरिब नदीका दुई किनारा बनाएको हो ।

नेकपा हुँदा ओलीलाई गरिएको कारबाही र एमाले ब्युँतिएपछि नेपालमाथि चलाइएको कारबाहीले ओली–नेपालको सम्बन्ध जटिल बन्न पुगेको हो। ओलीले कारबाही प्रक्रिया अगाडि बढाएपछि नेपालले ओली गुटले मात्रै कारबाही गरेको र त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया दिइसकेका छन्।

दुई वर्षअघि अर्थात् २०७६ भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने क्रममा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। त्यसक्रममा तत्कालीन नेकपा सचिवालय बैठकमै ओली–नेपाल भनाभन भएको थियो । ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप नेपालमाथि लगाएपछि विवादले चर्को रूप लिएको थियो ।

त्यतिबेला बैठक आरम्भ गर्दा प्रधानमन्त्री ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा आफूसँग सहमति लिएर पार्टीले निर्णय लिन सक्ने बताएपछि नेपालले सबै समान तहका नेता भएकाले सहमति लिनुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिएकाले भनाभन भएको थियो। त्यसपछि उत्पन्न विवादले त्यतिखेर अस्तित्वमा रहेको नेकपाभित्र दुई वर्षसम्मै किचलो भइरह्यो । ओली र नेपाल फरकफरक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !