१२ जेष्ठ २०८१, शनिबार

ओलीको दाहाललाई प्रस्ताव : ‘नेपालसँग सहकार्य तोड्नुस्’


ओली प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधव नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउने भन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका छन् ।

दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको थियो । यही भेटमा ओलीले नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत-अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल-नेपाल समीकरण भत्काउने प्रयास स्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका छन् ।

नेकपा सचिवालयका एक सदस्यले बताए अनुसार भेटमा ओलीले नेपालसँग आफूले लामो समय संगत गरेको र उनको बेलाबेलामा धोकाको राजनीति गरेको भन्दै आफूसँग सहकार्यका लागि दाहालसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा दाहालले आफूले नेपालसँग लामो समयदेखि सहकार्य गरेको र धोकाको सम्भावना नरहेको जवाफ फर्काएका थिए ।

यसअघि ओलीले नेपालसँगको भेटमा पटक–पटक सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । ओलीनिकट नेताहरुले दाहाल नेपालसहितको घेराबन्दीमा परेको भन्दै स्वतन्त्र भएर निर्णय लिनुपर्ने बताउँदै आएका छन् ।

बुधबारको भेटमा पनि ओलीले दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, दाहालले पार्टी कमिटीमा छलफलमा गइसकेको प्रस्तावको टुंगो त्यहीँबाट लाग्ने बताएको उनी निकट नेताले बताए । दाहालले छलफलमा गएका प्रस्ताव स्थायी कमिटीबाट टुंगिने बताएको ती नेताले जानकारी दिए ।

दुई नेताबीच बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भए पनि विवाद समाधानमा केही प्रगति नभएको उनीहरु निकटले बताएका छन् । दाहालको सचिवालयले पनि दुई अध्यक्षबीचको छलफलमा केही प्रगति नभएको बताएको छ ।

यसअघि उनीहरुबीच २६ दिनको अन्तरमा शनिबार (मंसिर २०) सचिवालयको बैठक अगाडि एक्लाएक्लै भेट भएको थियो । त्यसको अघिल्लो रात ओली र दाहालबीच टेलिफोन संवाद भएको थियो । ओली–दाहालबीचका पछिल्ला भेटमा सहमतिभन्दा तनाव बढी भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्नजानु अघि दाहालले निकट नेताहरुसँग परामर्श गरेका थिए । ओलीले आफूनिकट नेताहरुमार्फत् दाहालसँग संवादको प्रयास गर्दै आएका छन् ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसमूहले ओलीले ‘त्याग’ गर्नुपर्ने माग राख्दै आएका छन् । तर, ओलीले महाधिवेशनपछि पार्टीको र चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने शर्त सारेका छन् । नेकपाले चैतमा महाधिवेशन गर्ने भने पनि पछिल्लो विवादका कारण त्यो अनिश्चत छ । ओलीले निकट नेताहरुलाई ‘सबै परिस्थितिको सामना गरेर जाने’ बताइरहेका छन् । पछिल्लो पटक तीन राजदूत सिफारिस, कर्णाली प्रदेशको विवाद, मन्त्रिपरिषद् पुनर्गठनको विवादले ओली र दाहाल–नेपाल समूहबीच थप आंशका बढाएको छ ।

आइतबारको स्थायी कमिटीपछि दुई अध्यक्षबीचको दूरी र मनमुटाव थप बढेको बताइएको छ । दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि भन्दै स्थायी कमिटी बैठक एक साता स्थगित भएको थियो । तर, बैठकमा ओली सहभागी भएका थिएनन् । दाहालको पत्र बैठकमा छलफलका लागि योग्य नभएको भन्दै ओलीले स्थायी कमिटीलाई पत्र लेखेर अनुपस्थित हुनुको कारण खुलाएका थिए ।

स्थायी कमिटी बैठकमा दाहालले ‘पार्टी जीवन विशिष्ट, गम्भीर र संकटपूर्ण परिस्थितिमा पुगेकाले पार्टी एकतालाई केन्द्रमा राखेर र अहिलेको संकटलाई सकारात्मक ढंगले समाधान गर्नेगरी छलफल गम्भीर र व्यापक रुपमा अघि बढाउन अपिल’ गरेका थिए । उनले ओलीकै कारण पार्टी र सरकार संचालनमा समस्या देखिएको आरोप लगाएका छन् ।

ओलीले दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाइरहेका बेला दुई अध्यक्षबीच भेट भएको हो । कात्तिक २८ मा सचिवालय बैठकमा १९ पेजको दाहालको राजनीतिक प्रस्ताव पेस भएलगत्तै ओलीले त्यसलाई आरोपपत्र भन्दै फिर्ता लिन माग गरिरहेका छन् । यसबाहेक उनले दाहालको प्रस्तावको जवाफमा ३८ पृष्ठ लामो प्रस्ताव मंसिर १३ को सचिवालयमा पेस गरिसकेका छन् ।

२२ कात्तिकमा अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए ।

त्यसपछि ओलीले कात्तिक २५ मा पार्टी र सरकार सञ्चालनका प्रश्नसहित आफूलाई बुझाइएको पत्रको लिखित रूपमै जवाफ दिए । त्यहाँबाट सुरु भएको पत्रयुद्ध अझै रोकिएको छैन । बरु नेकपा विवाद झन्झन् जटिल बन्दै गएको छ । विवादको अन्त्य कसरी हुन्छ भन्ने अझै अनिश्चत छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !