७ मंसिर २०८१, शुक्रबार

नेकपामा अध्यक्ष र प्रधानमन्त्री बन्न को आउलान् ?


ओली-प्रचण्ड

काठमाडौं । के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आपूm तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भएअनुसारकै दिशातिर जान्छ त जारी विवाद ?

सत्तारुढ कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रित हो ? बृद्धभत्ता पाउने ६५ बर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट शुरु हुन्छ ? महाधिवेशनबाट नेतृत्वचयन लोकतान्त्रिक विधिमै सम्पन्न गर्ने परिपाटी अंगालेको पूर्व एमाले निकट र त्यो अभ्यासमा जानै लागेका पूर्व माओवादी नेताहरु व्यक्तिगत तवरबाट मोदनाथ प्रश्रितले सन्यास लिएझैं अब नीतिगत रुपमै युवाको निम्ति ठाउँ खालि गर्न तयार होलान् ? प्रश्न अनेक छन्, उत्तर सहज छैन । यद्यपि यो विषय सचिवालय बैठकमा प्रवेश भएको छ । प्रधानमन्त्रीले राखेको प्रस्तावउपर उनीबाटै कार्यान्वयन शुरु हुन हिजोको बैठकमा मागसमेत राखिसकिएको छ ।

एकजना नेताले बताएअनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी साँच्चिकै नयाँ पुस्तालाई दिन खोजेका हुन् भने राजीनामा दिएर बैठकमा प्रस्तुत भएमा सबैले एक मिनेटमै उक्त निर्णय कार्यान्वयन गर्ने खुमलटार पक्षको तयारी छ । त्यसो गर्दा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा उनको आदर्श वचनलाई पछ्याउने कतिजना निस्किन्छन् त्यो स्वतः देखिने पनि उनले बताए ।

प्रधानमन्त्रीको नयाँ पुस्तालाई सत्ता र नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अर्काे चुनाव र महाधिवेशनपछि स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङहरूलाई अघि बढाउने हो भन्दै बालुवाटार वरपरका अरु निकटस्थ पनि पर्ख र हेरको रणनीतिमा देखिन्छन् ।

तर, खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोलेकोमा ढुक्क छन् । उनीहरू भन्छन्, ‘यसअघि प्रधानमन्त्रीले सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएकै थियो । अहिले गौतम कुन हालतमा हुनुहुन्छ सबैले देखेकै छन् ।’

समस्याको जरो मूल नेतृत्वको वैचारिक तथा राजनीतिक दृष्टिकोणमा देखिँदै गएको विचलन, मूल्य–मान्यताको अभाव र कमिटीहरूमा नियमित बैठकको अभाव रहेको बताइन्छ । त्यसैगरी सामूहिक निर्णय गर्ने परिपाटीबाट क्रमशः विचलित हुँदै जानुपनि समस्या भुसको आगो बन्नुको प्रमुख कारण हो भनिन्छ । व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यता र व्यवस्थापनबाट विचलित हुनुले पनि अहिलेको अवस्था निम्त्याएको अर्काे खेमाको आरोप छ ।

गत वर्ष गरिएको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी बाँडफाँडलाई कार्यान्वयन गर्नुको सट्टा लत्याउने काम भएपछि समस्या बल्झिनेतर्फ उन्मुख हुँदै गएको हो भनिन्छ । पार्टी निर्णयबाट टुङ्ग्याइएको कार्यकारीको जिम्मेवारीलाई प्रधानमन्त्री आफैले सञ्चार माध्यममा खुल्लमखुला चुनौती दिएर अर्को अध्यक्षलाई उपाध्यक्षको हैसियतमा राखेका थिए । पछिल्लो एक वर्षमा आयोजित सचिवालय तथा स्थायी समिति बैठकमा कुर्सी राजनीतिको नाटक मञ्चन भएकै हो ।

समस्या अर्का अध्यक्षमा पनि छ, झिनामसिना कुरामा लेनदेन गर्ने, नाता च्याप्ने, सम्झौता गर्दै अडान छाड्ने र बैठक राख्न नसक्ने । अनि आपूmले पटक पटक अवसर दिएका बादल, टोपबहादुर, लेखराजलगायतको मन जित्न नसक्ने, कहिले ओलीसँग मिलेर माधवलाई किनारा लगाउने, कहिले झलनाथ, बामदेवलाई मिलाएर ओलीहरुसँग सिँगौरी खोल्ने, ब्यापारीको स्वार्थमा प्रधानमन्त्रीसँग खुसामद गर्ने । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !