१२ असार २०८१, बुधबार

अर्थमन्त्री खतिवडालाई राष्ट्रिय सभा लैजान दाहाल र गौतम किन असहमत ?


डा. युवराज खतिवडा

काठमाडौं, भदौ १८ । विवाद समाधानको उपाय सुझाउन बनेको कार्यदलको प्रतिवेदनमा छलफल गर्न बिहीबार बोलाइएको नेकपा सचिवालय बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ । बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।

तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएको उनीहरूनिकट स्रोतले जानकारी दियो ।

ओलीसँग भेट्न जानुअघि दिउँसो दाहाल र गौतमबीच भेट भएको थियो । भेटमा गौतमले आफू राष्ट्रिय सभामा जाने धारणा राखेका थिए । दाहालले पनि त्यसमा समर्थन जनाए र ओलीसँग साँझ त्यही प्रस्ताव गरे । तर अध्यक्षद्वयबीच कुरा मिलेन । त्यसपछि साँझ ७ बजेदेखि साढे ८ सम्म ओलीले उपाध्यक्ष गौतमसँग छुट्टै परामर्श गरेका थिए ।

दाहाल र गौतमसँग भेट्नुअघि ओली पक्षधर नेताहरूबीच भएको छलफलबाट राष्ट्रिय सभामा मनोनीत तीनमध्येका एक सदस्य रामनारायण बिडारीलाई राजीनामा गराएर गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा मनोनयन गर्ने प्रस्ताव पनि तयार गरिएको थियो । तर उक्त प्रस्तावमा दाहाल सकारात्मक नभएको ओलीनिकट स्रोतको दाबी रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !