८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री देउवाद्वारा गौचनप्रति अन्तिम श्रद्धाञ्जलि, सहिद घोषणा गर्ने आश्वासन


असोज २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा बिहीबार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले महासंघको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले स्व. गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका थिए । स्व. गौचनप्रति श्रद्धाञ्जलि अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासंघको कार्यालय पुगेका थिए । स्व. गौचनको शव १० देखि १ बजेसम्म महासंघको कार्यालय अनामनगरमा राखिएको थियो ।

अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँबानेश्वरस्थित घरबाट निस्कनेक्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो । गौचनको हत्यारालाई चाँडै पत्ता लगाइ कारबाही गर्नुपर्ने, गौचनलाई सहिद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् । बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई सहिद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिएपछि बिहीबार (आज) गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो । अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ ।

महासंघका एसोसिएट सदस्य शिवहरि घिमिरेकाअनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ । गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र उनको आजै थकाली परम्पराअनुुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !