६ जेष्ठ २०८१, आइतबार

११ हजार घरधुरीलाई राहत वितरण


दमौली, ३ वैशाख । कोभिड–१९ को जोखिम नियन्त्रण गर्न सरकारले गरेको लकडाउनबाट प्रभावित भएका विपन्न, असहाय तथा मजदूरलाई तनहुँ जिल्लाका स्थानीय तहले राहत वितरण गरेका छन् ।

जिल्लाका सबैजसो स्थानीय तहले मापदण्ड बनाएर विपन्न, असहाय तथा मजदूरलाई खाद्यान्न सामग्री वितरण शुरु गरेका हुन् । जिल्लाका दश स्थानीय तहले ११ हजारभन्दा बढी विपन्न, मजदूर तथा असहाय परिवारलाई राहत वितरण गरेको बताइएको छ ।

व्यास नगरपालिकाले असहाय, मजदूर तथा विपन्न परिवारलाई राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले १४ वडाका तीन हजार पाँच सय विपन्न, मजदूर तथा असहाय परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिनुभयो । टोल विकास संस्थाको सिफारिस, सर्वपक्षीय उपस्थितिमा सम्बन्धित वडा समितिबाट निर्णय भएअनुसार सबै वडामा राहत वितरण सकिएको उहाँले बताउनुभयो । प्रत्येक वडाबाट राहतका लागि सिफारिस भई आएका सम्बन्धित व्यक्तिलाई मात्र पारदर्शी रुपमा राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

राहत सामग्री वितरणका लागि नगरपालिकाले मापदण्ड बनाएको थियो । सो बमोजिम चार जना सम्मको परिवार सङ्ख्या भएको घरधुरीलाई १२.५ किलो जिरा मसिनो चामल, एक किलो दाल, १ लिटर खानेतेल, १ केजी नून र दुई वटा साबुन वितरण गरिएको छ । साथै पाँच वा सो भन्दा बढी परिवार सङ्ख्या भएका घरधुरीलाई २५ किलो चामल, एक किलो दाल, एक लिटर खानेतेल, एक किलो नून र दुई वटा साबुन वितरण गरिएको छ ।

नगरपालिकाले १४ वडाका तीन हजार पाँच सय असहाय, विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।

भानु नगरपालिकाले १ हजार ४ सय ३६ विपन्न परिवारलाई राहत वितरण गरेको छ । भानु नगरपालिकाले मापदण्ड बनाएर राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले ज्याला मजदूरीको माध्यमबाट गुजारा चलाउने तीन हजार ९० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । लकडाउनको मारमा परेका परिवारलाई चामल, दाल, नून, खाने तेल र साबुन वितरण गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । यहाँका १२ वडामा तीन हजार तीन सय चार परिवारले राहत लिन निवेदन दिएका थिए । दुई सय १४ परिवार राहत लिनलाई तोकिएको मापदण्डमा नपरेको नगरपालिकाले जनाएको छ । तथ्याङ्क सङ्कलनमा छुटेका तर आर्थिक विपन्नताले घरमा चुलो बल्ने स्थिति नभएकालाई पछि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

वडा नं १ मा ३ सय ३२ परिवार, २ मा ३ सय ४५, ३ मा २ सय ८९, ४ मा २ सय २०, ५ मा ३ सय ३, ६ मा ३ सय १५, ७ मा २ सय ३५, ८ मा १ सय ४, ९ मा २ सय ६५, १० मा २ सय ५८, ११ मा १ सय ७३ र १२ मा २ सय ५१ परिवारलाई राहत प्रदान गरिएको हो । वडा नम्बर ८ ले यसअगाडी वडाको पहलमा सहयोग जुटाएर २ सय ३४ परिवारलाई राहत वितरण गरिसकेको थियो । नगरपालिकाले परिवारमा दुई जना सदस्य भएका परिवारलाई १५ केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन उपलब्ध गराएको छ । चार जना सदस्य भएका परिवारलाई २० केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिएको हो । चार जना भन्दा धेरै सदस्य भएका परिवारलाई २५ केजी चामल, तीन केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिइएको छ ।

म्याग्दे गाउँपालिकाले एक हजार ५ सय घरपरिवारलाई राहत वितरण सम्पन्न गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरुलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड–२०७६ अनुसार गाउँपालिकाभित्र राहत वितरण कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

गाउँपालिकाले तयार गरेको मापदण्ड अनुसार दुई जनासम्मको परिवारले दश किलो जिरा मसिना चामल, एक किलो रातो दाल, एक लिटर तेल, एक किलो नुन पाएका छन् भने तीनदेखि ४ जनाको परिवारले भने १५ किलो मसिना चामल, एक किलो रातो दाल, एक लिटर तेल, एक किलो नून पाएका छन् । त्यस्तै पाँच सदस्यभन्दा माथि भएका परिवारका सदस्यले २५ किलो मसिना चामल, दुई किलो रातो दाल, एक लिटर तेल, एक किलो नून पाएको गाउँपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाले ८ सय ४४ विपन्न परिवारलाई राहत वितरण गरेको छ । लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरुलाई जीवनयापन सञ्चालनका लागि गाउँपालिकाका ८ सय ४४ घरपरिवारलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो । प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक प्याकेट नून, एक लिटर तेल, दुई वटा साबुन र २ किलो चिउरा वितरण गरिएको छ ।

देवघाट गाउँपालिकाले ७ सय ९१ घरपरिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । ५ वटै वडा कार्यालय मार्फत प्राप्त भएको विवरण अनुसार असहाय एवं विपन्न परिवारलाई राहत वितरणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाका भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिकाले पनि असहाय एवं विपन्न परिवारलाई राहत वितरण जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !