८ जेष्ठ २०८१, मंगलबार

अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माण


मन्दिर

रीता लामा, घोराही, १५ माघ । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको मन्दिरको स्वरुप नै परिवर्तन गरेर पहिलेको मन्दिरभन्दा अग्लो र ठूलो आकारमा नयाँ आकर्षक र कलात्मक प्रविधिबाट मन्दिर निर्माण गरिएको हो ।

पुरातत्व विभागको रु तीन करोेड ६१ लाख ५९ हजार ७१३ को लागतमा मन्दिरको निर्माण गरिएको हो । करीब सय वर्ष पुरानो मन्दिरको पुरातत्व विभागले दुई वर्षको अवधिमा नयाँ स्वरुपको मन्दिर तयार गरेको हो । नेपालको पुरानो शैली र प्रविधिको प्रयोग गरेर ढुङ्गा, चुना, सुर्की र काठबाट मन्दिर निर्माण गरिएको छ । नयाँ निर्माण गरिएको मन्दिरमा पहिले जस्तो सिमेन्ट, गिट्टी, इँटा र छडको प्रयोग गरिएको छैन । नेपालको पुरानो सुर्की प्रविधिका माध्यमबाट प्यागोडा शैलीमा नयाँ मन्दिरको निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले जानकारी दिनुभयो ।

पहिलेको भन्दा ठूलो र अग्लो गरी नयाँ मन्दिर निर्माण गरिएकाले मन्दिरमा अब पूजापाठका लागि भक्तजन तथा दर्शनार्थीले पहिले जस्तो समस्या भोग्न नपर्ने उहाँले बताउनुभयो । “पुरानो मन्दिर सानो र साँघुरो हुँदा मन्दिरमा पूजापाठमा समस्या हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अब नयाँ शैलीमा मन्दिर निर्माण गरेकाले भित्र पनि फराकिलो छ, अब पहिले जस्तो समस्या हुनेछैन ।” उहाँका अनुसार नयाँ मन्दिर ढुङ्गा, चुना, सुर्की र काठको प्रयोग गरेर निर्माण गरिएको हो ।

मन्दिरको छाना तामाको रहेको छ । मन्दिरको छानामा सुनको गजुरसमेत राखिएको छ । विसं २०३० मा पुरानो मन्दिर निर्माण गर्दा इँटा, ढुङ्गा, माटो, बालुवा, छडलगायत वस्तुको प्रयोग गरेर मन्दिर निर्माण गरिएको थियो । मन्दिरलाई आकर्षक बनाउन भm्याल, ढोका र टुँडालमा समेत विभिन्न देवीदेवताका मूर्ति कँुदिएको छ । जसले मन्दिरमा पूजापाठसँगै हेर्न आउनेका लागिसमेत आकर्षण बनेको छ । मन्दिरको मूल ढोकाको अगाडि बाघ राख्नेबाहेक अन्य सम्पूर्ण काम पूरा भएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार ३२ फिट उचाइ रहेको नयाँ संरचनाको मन्दिर पहिलेको तुलनामा नयाँ मन्दिर भव्य, आकर्षक, कलात्मक देखिने भएको छ । मन्दिरभित्र रहेको देवीगर्भ भने पुरानै आकारमा पहिलेकै स्थानमा राखिएको छ । धार्मिक मान्यताअनुसार देवीगर्भलाई सार्न नमिल्ने भएका कारण पुरानै ठाउँमा राखिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । जिल्लामा लामो धार्मिक मान्यता बोकेको जिल्लाकै प्रसिद्ध मन्दिर २०३० सालमा निर्माण गरिएको थियो । त्यसभन्दा पहिले उक्त स्थानमा धमिराको देवल आकारमा सानो माटोको मन्दिर रहेको थियो ।

विसं २०३० मा मन्दिर निर्माणसँगै तत्कालीन वडा महारानी रत्नराज्य लक्ष्मी शाहले मन्दिरको उद्घाटन गरेसँगै मन्दिर चर्चामा आएको बताइन्छ । मन्दिर भित्री भाग साँघुरो, छाना चुहिने र पछिल्लो समय मन्दिर जीर्ण बन्दै गएपछि दुई वर्षपहिले २०७४ साल माघ २९ गतेदेखि २०७६ माघ मसान्तभित्र मन्दिरको पुनः निर्माणको काम सक्ने सम्झौताअनुसार भत्काइएको थियो । मन्दिरको पुनः निर्माण पुरातत्व विभागको मापदण्डअनुसार गरिएको साइट इन्चार्ज इन्जिनीयर पे्रमराज पोख्रेलले जानकारी दिनुभयो ।

पक्की मन्दिर निर्माण भएको ४४ वर्षपछि मन्दिर व्यवस्थापन समितिको पहलमा पुरातत्व विभागले मन्दिरको पुनः निर्माणको काम गरेको हो । भक्तपुरका दश मिस्त्रीले करीब दुई वर्षको अवधिमा मन्दिरको पुनः निर्माणको काम सम्पन्न गरेको इन्जिनीयर पोख्रेलले जानकारी दिनुभयो । स्वस्थानी व्रतकथाका आधारमा भगवान् शिवले सतिदेवीको शरीर बोकेर हिँड्दा उक्त स्थानमा सतिदेवीको दाँहिने कान पतन भएको धार्मिक विश्वास छ । मन्दिरमा शुद्ध मनले पूजापाठ गरे इच्छा गरेको फल प्राप्त गरिने धार्मिक विश्वास रहिआएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !