अच्युत रेग्मी, काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ । नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसङ्घभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो ।
विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । विसं २०७५ माघमा तत्कालीन अध्यक्ष महरले राजीनामा दिएपछि बन्न लागेको तदर्थ समिति विधानअनुसार बन्ने कि नबन्ने भन्ने अन्योल छ । नेविसङ्घभित्रका केही नेताहरु भने विधान कार्यान्वयनको माग गर्दै ३६ दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेका छन् ।
नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले विधान कार्यान्वयमा पार्टी गम्भीर बन्नुपर्ने बताउनुहुन्छ । “नेविसङ्घको बैठकबाट पास गरेर पार्टीलाई पेश गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पास गरेको अवस्थामा विधान लागू गर्दिन भन्नु पार्टी नेतृत्वको कमजोरी हो”, उहाँ भन्नुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिसके पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने विधान कार्यान्वयन र नेतृत्वको खोजीमै अल्मलिएको छ । नेपाली काँग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घमा अहिले अध्यक्ष नहुँदा १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ ।
नेविसङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी आफैँले विधान पास गर्ने र आफैँ विधानविपरीत जान नमिल्ने बताउनुहुन्छ । “३२ वर्ष हटाउने वा ३२ वर्षभित्रका विद्यार्थीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मामिला पार्टी र विद्यार्थी सङ्घभित्रको हो, तर पास भएको विधानलाई कसैले कुल्चन मिल्दैन”, उहाँ भन्नुहुन्छ ।
मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्रमोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । नेविसङ्को पहिलो अध्यक्ष विपिन कोइराला रहेका हुनुहुन्छ ।
नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरू अध्यक्षले आफ्नो समयमा अधिवेशन गर्न सक्नुभएन । विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका छन् । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन ।
नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महरले विधानअनुसार २२ जिल्लाको जिल्ला अधिवेशन र ६ लाख विद्यार्थीलाई सदस्यता वितरण गरिसकेको बताउनुहुन्छ । “आफ्नो लागि भयो भने विधान ठीक र अर्काका लागि भयो भने विधान बेठीक भन्ने प्रवृत्तिका कारण नेविसङ्घमा यस्तो अवस्था आएको हो”, उहाँ भन्नुहुन्छ । निवर्तमान अध्यक्ष महरले आफ्नै पालामा निर्वाचन गर्न सम्भव भए पनि पार्टीका नेता आफू अनुकूलका व्यक्तिलाई अगाडि सार्दा निर्वाचन हुन नसकेको बताउनुहुन्छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउनुहुन्छ । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उहाँ भन्नुहुन्छ ।