कार्तिक १२, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । उनले भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका थिए। पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए ।
‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन र परिवर्तनकर्तालाई अफ्ठ्यारो पर्न सक्छ ।’ पूर्वराजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे ।
यो पनि पढ्नुहोस्
विजय दशमीको उपलक्ष्यमा पूर्व राजाको शुभकामना (पूर्णपाठ सहित)