१३ जेष्ठ २०८१, आइतबार

विजय दशमीको उपलक्ष्यमा पूर्व राजाको शुभकामना (पूर्णपाठ सहित)


ज्ञानेन्द्र शाह

असोज १८, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ शुभकामना सन्देश (पूर्णपाठ)

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाईहरु,

“राष्ट्रिय संस्कृति पर्व” बडा दशैं नेपाली घर आँगनमा छाएको छ । विजय दशमीको पावन अवसरमा हामी देशभित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति र सम्वृद्धिको शूभकामना व्यक्त गर्दछौ ।

राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सूसंस्कृत सभ्यतालाई भूलेर जान खोज्दा कदापि हाम्रो भलो हुँदैन । एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ-आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।

हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पुरै देशको उन्नति बाहेक अरु केहि हुँदैन । भगवानको आशिर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्दछ । तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित हुदैन । त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै ‘’राष्ट्रिय आदर्श’’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटूट प्रयत्न हुनुपर्छ । ‘नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।

श्री नवदुर्गा भवानीले हाम्रा सबै आसूरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातनिक सत्य पथतर्फ” अभिप्रेरित गरुन् ।

जय नेपाल ।

पूर्व राजाको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !