५ जेष्ठ २०८१, शनिबार

प्रदेश नं ५ को बजेट अधिवेशन शुरु


प्रदेशसभा

 

३१ वैशाख, रुपन्देही ।  प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ ।

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।

उहाँले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले समावेशीताको सिद्धान्तअनुसार बजेट निर्माण गर्ने जानकारी दिँदै २०७५ साउन १ देखि प्रदेश सरकारले राजश्व संकलन गर्ने गरी आधार तयार गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडक, पुल, नहर र खानेपानीमा जनताको पहुँच पु¥याउन नयाँ बजेटको प्राथमिकता निर्धारण हुनेछ ।”

कृषि क्षेत्रको विकास समुचित उत्थान, पर्यटन र उद्योग क्षेत्रको विकास र पूर्वाधारका लगानी क्षेत्रमा सरकारले बजेटलाई केन्द्रित गर्ने जानकारी दिँदै उहाँले अव्यवस्थित बसोबासको समस्या निराकरण र वर्षामा हुने बाढी पहिरो नियन्त्रणका लागिसमेत सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले स्थानीय तहसँग सहकार्य गरेरै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारको नयाँ बजेट चुहावट नियन्त्रणतर्फ केन्द्रित हुने र साना र मसिना आयोजनामा बजेट खर्च नगर्ने बताउनुभयो ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन पुनः विधायन समितिमै फिर्ता पठाउन राख्नुभएको प्रस्ताव सदनले अनुमोदन गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !