१३ आश्विन २०८१, आइतबार

चिकित्सक, कर्मचारी र प्रहरी झडपमा १० घाइते


१९ चैत, पोखरा । पोखराको मनिपाल शिक्षण अस्पताल लामो समयदेखि प्रशासन र चिकित्सकको टकरावमा छ । स्वास्थ्य सेवा पाउने थलो यतिबेला आन्दोलनले ग्रस्त छ ।

लामो समयदेखि विभिन्न माग राखेर चिकित्सक कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । सोमबार मनिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आन्दोकारी चिकित्सक र प्रहरीबीच झडप नै भएको हो । झडपमा १० जना घाइते भएका छन् ।

घाइते हुनेमा ७ जना प्रहरी र ३ जना चिकित्सक कर्मचारी छन् । चिकित्सक कर्मचारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भएको भीडन्तले अस्पताल तनावग्रस्त बन्यो ।

प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारी र प्रहारबीचको भीडन्तले अस्पतालका सीसा, डिनको कार्यालय तोड्फोड भएको छ ।

मनिपालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, विदा, स्थायी लगायतका माग राखेर आन्दोलन गर्दै आएका थिए । चिकित्सक कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका थिए भने प्रस्पताल प्रशासनमा धर्ना पनि दिँदै आएको थियो ।

चिकित्सक कर्मचारीको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीले बताएका छन् । प्रहरीले स्वास्थ्य संस्थामा आन्दोलन गर्न ठिक नभएको बताएको र सेवाग्राहीले सेवा पाउनबाट बञ्चित हुन नदिने प्रयास गरेको एसपी सिंहले बताए ।

भीडन्तमा राजबहादुर घर्ती कर्णबहादुर केसी र अमर गुरुङ लगाएतका कर्मचारी घाइते भए । विपिन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुनाराज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल घाइते भएका प्रहरी हुन् ।

तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जलाई इन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !