८ जेष्ठ २०८१, मंगलबार

सरकारले सार्वजनिक गर्यो २०७५ सालभरिको बिदा सूची


१९ चैत, काठमाण्डाै ।  सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूची सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूची सार्वजनिक गरेको हो ।

यस अनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।

सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।

असोज २३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ भने दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ ।

यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।

मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौती गर्दै वर्षमा ८९ दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि वर्षको १ सय ४ दिन सार्वजनिक बिदा हुँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !