११ आश्विन २०८१, शुक्रबार

इट्टा उद्योग बन्द


इट्टा उद्योग

चितवन, २७ कात्तिक । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् ।

मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।

इट्टा उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिनुभयो । “चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन” उहाँले भन्नुभयो, “तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।” उहाँका अनुसार जिल्लामा १८ वटा इट्टा उद्योग छन् । देशभरमा यो सङ्ख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

गत वर्ष सबै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदूर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्नेलगायत काम नहुने भएपछि उद्योग वन्द गरिएको हो । जिल्लाका साना एक दुई वटा सञ्चालन हुन सक्ने भए पनि अन्य सवै उद्योग बन्द हुने सापकोटाको भनाइ छ ।

गत वर्षपनि मंसिर महिनादेखि फागुनसम्म पटकपटक वर्षा हुँदा वनाएको इट्टा गलेर नोक्सान भएको थियो । दुई वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था नरहेको जिल्ला अध्यक्षसमेत रहनुभएका सापकोटाले बताउनुभयो । ठूलो सङ्ख्यामा मजदूर आवश्यक पर्ने भएकाले भौतिक दूरी कायम गरेर काम गर्न सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । सापकोटाले भन्नुभयो, “एक जना मजदूरलाई कोरोना सङ्क्रमण भएमा सबै जोखिममा हुन्छन् । यो जोखिम मोल्न नसकेर नै उद्योग खोल्न नसकेका हौं ।” एउटै इट्टा भट्टामा तीन सय सम्म मजदूरलाई काम लगाउने गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !