२३ मंसिर २०८१, आइतबार

उद्योगहरुमा तत्काल लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले उद्योगहरुमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।

हिजो मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि समितिको बैठक बसेको थियो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । तर नियमन आयोगले हिजै लाइन नकाट्न निर्देशन जारी गर्‍यो ।

सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले असहमति राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !