खलङ्गा, १ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा छ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ का लागि जुम्लाको चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् । सूचीकृत हुनेमा तिला गाउँपालिकामा एक हजार २६२, हिमा गाउँपालिकामा दुई हजार १६५, सिञ्जा गाउँपालिकामा एक हजार ७०३ र पातारासी गाउँपालिकामा एक हजार २८३ व्यक्ति रहेका सिञ्जा गाउँपालिका रोजगार अधिकृत इन्द्रराज गिरीले बताउनुभयो ।
सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
तोकिएको समयावधिभित्र फाराम भरेका दुई हजार ८७६ बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका दुई हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताउनुभयो ।
सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज भण्डारीले बताउनुभयो । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञ भण्डारीले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका आठवटै स्थानीय तहलाई ५१ लाखका दरले रकम अनुदान प्रदान गरिसकेको यहाँका रोजगार शाखाले जनाएका छन् । यस वर्ष विश्व बैंक सँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करीब पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।