१३ मंसिर २०८१, बिहीबार

दमौली–डुम्रे सडकखण्ड एकतर्फी सञ्चालनमा


मध्यपहाडी राजमार्ग

तनहुँ, ११ साउन । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार राति १२ बजेदेखि एकतर्फी सवारी साधान सञ्चालनमा आएको छ । शनिबार बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र खटेर वैकल्पिक मार्ग निर्माण गरेपछि एकतर्फी सवारी साधान सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको बन्दीपुर–१ नाहालास्थित पृथ्वी राजमार्गमा पहिरो गएर अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोलेर मर्मत गरेपश्चात राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनीयरसहितको टोलीले शनिबार बिहानदेखि निरन्तर निर्माण कार्यमा लागेका कारण एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन सकिएको उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा गर्न लागिएको ग्राबेल बालुवा ल्याउन समस्या भएकाले शनिबार साँझसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलाइ हुन पुगेको प्रजिअ आचार्यले बताउनुभयो । सडकमा अलिकति स्थान खाली हुनेबित्तिकै अन्य सवारी प्रवेश गराइदिँदा ग्राबेल बालुवा ढुवानी गर्न समस्या भएकाले तोकिएको समयभन्दा अलि ढिलाइ भएको उहाँले बताउनुभयो ।

साँझसम्म सवारी आवतजावतको व्यवस्था मिलाउने गरी काम गरे पनि सवारी साधनकै अवरुद्धका कारण सोचेको समयभित्र सम्पन्न गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिएपनि शनिबार बिहान पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाएर काम गर्न लगाइएको तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने निर्वाध रुपमा आवतजावतको लागि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

गत साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँचवटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासमा राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

चल्यो छाब्दी मार्ग
प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने छाब्दी मार्ग एक सातापछि आजदेखि सञ्चालनमा ल्याइएको छ । छाब्दी मार्गअन्तर्गत जिल्लाको ब्यास नगरपालिका–१ कदम खोलाको ह्युमपाइप बाढीले बगाउँदा अवरुद्ध भएपछि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको हो ।
गत साउन ४ र ५ गते परेको अविरल वर्षापछि आएको बाढीले कदम खोलाको ह्युमपाइप बगाएपछि आवतजावतमा समस्या भएकाले सुचारु गर्न लागेको कदम खोला छाब्दी मार्ग उपभोक्ता समितिका संयोजक मणिजङ्ग बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मार्ग सञ्चालनको लागि सडक डिभिजन कार्यालयबाट चारवटा ह्युमपाइप र नगरपालिकाबाट मर्मतको लागि बजेट विनियोजन गर्ने गरी काम शुरु गरिएको हो । शनिबार दुई वटा स्काभेटर प्रयोग गरेर १५ फुटे मार्ग निर्माण गर्न लागिएको छ । उहाँले भन्नुभयो । “उक्त मार्ग पुनः सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।”

वर्षायामको समय रहिरहेकाले तत्कालको समस्यालाई मध्यनजर गर्दै वैकल्पिक रुपमा छाब्दीमार्ग पुनः सञ्चालन गर्न लागिएको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताउनुभयो । असोज महिना लागेपछि गण्डकी प्रदेश सरकारसँग समन्वय गरी राम्रै किसिमले उक्त मार्ग निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ ।

तनहुँको सदरमुकामदेखि करिब ८ किलोमिटर पूर्वमा छाब्दी बाराही मन्दिर अवस्थित छन् । हिउँदमा धुलो र वर्षायाममा हिलाम्ये हुने उक्त सडकको कालोपत्र गर्न बाँकी रहेको भाग तीनवटै सरकारको सहयोगमा कालोपत्र सम्पन्न गरिएको छ । सो मार्गमा कालोपत्र गरिएसँगै हिलो र धुलोमा सामना गर्नुपर्ने समस्याको अन्त्य भएको छ । छाब्दी देवीसँग भाकल मागेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चना गर्न आउने गर्दछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !