८ मंसिर २०८१, शनिबार

स्थिर सरकारको पक्षमा युवाको प्रदर्शन


दमौली, २० असार । स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले दमौलीमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवाहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिए ।

युवा कविराज श्रेष्ठले पार्टी एक हुनुपर्ने, सरकार ढाल्न नहुने र बाहिरी चलखेल बन्द हुनुपर्ने मागसहित नेताहरुलाई दबाब दिन प्रदर्शन गरिएको जानकारी दिनुभयो । युवा विद्यार्थी नवीन वाग्लेले भारतले मिचेको जमिन फिर्ता ल्याउने कामको अगुवाइ गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको माग बेमौसमीको बाजा भएको बताउनुभयो । पार्टी फुटाउने प्रयासलाई निस्तेज पारेरै छाड्ने बताउँदै वाग्लेले पार्टीलाई बलियो बनाउन युवाहरुको अभियान जारी रहने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !