१९ असार २०८१, बुधबार

स्थानीय तह तेस्रो चरण निर्वाचनको चुनाव तयारी अन्तिम चरणमा


भाद्र ३१, काठमाडौँ | प्रदेश २ का आठै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाकर्मी र कर्मचारी सम्बन्धित मतदान केन्द्र पुगिसकेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । हरेक जिल्लामा ३ देखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् ।

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत असोज २ गते प्रदेश २ का ८ जिल्ला बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीमा मतदान हुँदैछ ।

पर्सामा प्रहरी, सशस्त्र प्रहरी र सेना मतदान केन्द्रको सुरक्षामा परिचालित छन् । प्रदेशको एक मात्र महानगर वीरगन्ज तथा जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार शुक्रबार राति १२ बजेदेखि ७२ घण्टाका लागि भारतसँग जोडिएका सबै सीमा नाका सिल गरिएको छ । ‘सुरक्षाबारे भारतीय काउन्टर पार्ट्ससँग पनि कुरा भइरहेको छ,’ उनले भने, ‘सीमामा कुन स्तरसम्मको कडाइ गर्नेबारे छलफल भइरहेको छ ।’ निर्वाचन सुरक्षाको पूर्ण तयारी भइसकेको उनले बताए । ‘सबै मतदानस्थलमा नेपाल र सशस्त्र प्रहरी तथा सेनासमेतको टोली पुगिसकेको छ,’ एसपी गिरीले भने, ‘स्ट्रयाकिङ टोली पनि आइसकेको छ ।’ महानगर तथा ग्रामीण भेगका ‘चेक प्वाइन्ट’ पनि चुस्तदुरुस्त बनाइएको उनले जानकारी दिए । जिल्ला सुरक्षा समितिले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील तीन समूहमा वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गरेको छ ।

सर्लाहीमा मतदानलाई बढी संवेदनशील निक्र्याेल गरी तयारी बढाइएको छ । १४१ मतदान केन्द्रलाई अति संवेदनशील र १५१ लाई संवेदनशील समूहमा राखिएको छ । सीमा जोडिएका स्थानलाई पनि सुरक्षा समितिले अति र संवेदनशीलमा राखेको छ । पूर्वपश्चिम राजमार्ग आसपास विप्लव समूहको सामान्य प्रभाव छ । प्रजिअ प्रदीपराज कँडेलले मतदान गर्न पाउने लोकतान्त्रिक हकबाट कोही वञ्चित नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । केही दिनयता राजमार्ग आसपासका केही स्थानमा विस्फोटक सामग्री राख्नेजस्ता गतिविधि छिटपुट देखिएका छन् ।

सबैजसो मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी व्यवस्थापन भने भरपर्दाे देखिएको छैन । कर्मचारी खटनपटनमा मुख्य निर्वाचन अधिकृत कार्यालयले त्रुटि गरेको गुनासो आएको छ । मतदान स्थल पुगेर परिचयपत्र बाँड्नुपर्नेमा शुक्रबार अपराह्नसम्म पनि कर्मचारी सामग्री बुझ्नमै व्यस्त थिए ।

निर्वाचन तयारीबारे बुझ्न शुक्रबार काठमाडौंबाट निर्वाचन आायोगका आयुक्तसहितको टोली शुक्रबार हेलिकप्टरमा मलंगवा आएको थियो । आयुक्तले तत्काल कर्मचारीलाई मतदान केन्द्र पठाउने वातावरण मिलाउन निर्देशन दिए । प्रजिअ कँडेलले कर्मचारीलाई निर्वाचन सामग्री दिएर कार्यक्षेत्र पठाउने तयारी भइरहेको बताए ।

रौतहटमा शुक्रबारदेखि मतदान केन्द्र र मतदानस्थलमा सुरक्षाकर्मी खटाइएका छन् । कर्मचारीले शुक्रबारबाटै मतदाता परिचयपत्र वितरण थालेका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना खटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । विश्रामपुर, मौलापुर, गैडाटार, राजपुरलगायत केही मतदान केन्द्र संवेदनशील र अति संवेदनशील मानिए स्थानीय प्रशासनले सुरक्षा दृष्टिले विवरण सार्वजनिक गरेको छैन । ‘प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी खटाइसकेका छौं,’ प्रजिअ उद्धवबहादुर थापाले भने ।

बारामा पनि कर्मचारी व्यवस्थापनमा केही अन्योल देखिएको छ । ४ सय ५८ मतदान केन्द्रका लागि झन्डै ३ हजार कर्मचारी व्यवस्थापन गर्न हम्मे परेको हो । श्रेणी भएकालाई श्रेणीविहीन उल्लेख गरिएको, अवकाशप्राप्तको पनि मतदान केन्द्रमा खटाइने कर्मचारीको सूचीमा नाम परेकाले भद्रगोल भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कतिपय अधिकारीले आफ्ना नजिकका श्रेणीविहीन कर्मचारीलाई समेत सहायक मतदान अधिकृत र योग्यलाई भने श्रेणीविहीन (पियन) को सूचीमा पारिएकाले कर्मचारीभित्र तीव्र असन्तुष्टि छ ।

‘जिल्लाका उच्च अधिकारीले आफ्ना चालक, भान्छे र पियनलाई पनि सहायक मतदान अधिकृत पदमा राख्न दबाब दिएकाले मिलाउन गाह्रो भएको छ,’ प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले भने, ‘व्यवस्थापन गर्दागर्दै चार दिनदेखि कर्मचारी सुत्न र आराम गर्न पाएका छैनन् ।’ मतपत्र भने शुक्रबारै सबै केन्द्रमा पुर्‍याइसकिएको छ । ‘मतपत्र र सुरक्षाकर्मी गाउँगाउँ पुगेका छन्,’ प्रजिअ विजयनारायण मनान्धरले भने, ‘स्वच्छ र भयरहित निर्वाचन गराउन खुला सीमानामा सुरक्षा निगरानी बढाइएको छ ।’

सिरहाका भारतीय बोर्डर क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ । सीमालगायत बजार क्षेत्रमा मदिरा बिक्रीमा समेत कडाइ गरिएको छ । चुनावको मुखैमा उम्मेदवार र कार्यकर्ताहरूले मतदातालाई आकर्षित पार्न मदिराको खोलो बगाउने गरेको गुनासो आएको र मदिरापानका कारण विभिन्न दलका कार्यकर्ताबीच मुठभेडसमेत हुने गरेकाले मदिरा बिक्रीमा कडाइ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि प्रदेश २ का ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको र सम्पूर्ण तयारी पूरा भएको आयुक्त सुधीरकुमार शाहले जानकारी दिए । निर्वाचनमा भित्री घेरा नेपाल प्रहरी, मध्यम घेरा सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेराका लागि नेपाली सेना परिचालन गरिएको छ । मतदानकेन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । आचारसंहिता अनुगमनका लागि प्रदेश २ का प्रत्येक जिल्लामा दुई जना सहसचिव खटाइएको उनले जानकारी दिए ।

महोत्तरीमा पनि निर्वाचन लक्षित गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रजिअ बाबुराम श्रेष्ठले मतदानस्थलको भौगोलिक अवस्थिति, सामाजिक परिवेश र आपराधिक गतिविधिलगायत आधारमा जिल्लालाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी ३ तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । १५ स्थानीय तहमध्ये भारतसँग सीमा जोडिएका जलेश्वर, मनरा सिसवा, समसी तथा राजमार्गसँग जोडिएका बर्दिबास, बलवा, रामगोपालपुर र सोनमालाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, गौशाला, भंगाहा सीतापुर, औरही, लोहरपट्टी, एकडारा र पिपरालाई संवदेनशील तथा मटिहानी र महोत्तरीलाई सामान्यको सूचीमा राखिएको प्रजिअ श्रेष्ठले जनाए ।

१ सय २९ मतदान केन्द्र अति संवेदनशील, १ सय ३ संवेदनशील र २६ मतदानस्थल सामान्य रहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जनाए । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित रहेको प्रजिअ श्रेष्ठको भनाइ छ । ‘मतदातालाई निर्भीक भएर मतदान गर्न आग्रह गरेका छौं,’ उनले भने । अति संवेदनशील क्षेत्रमा छुट्टाछुट्टै मोबाइल गस्तीसमेत व्यवस्था मिलाइएको उनले जनाए ।

जिल्लामा केही दिनयता निर्वाचनविरोधी विस्फोटलगायत गतिविधि भइरहेका छन् ।

धनुषामा निर्वाचन सामग्रीसहित ३ हजार २ सयभन्दा बढी कर्मचारी खटिएका छन् । ३ सय २७ मतदानस्थलका ५ सय १५ मतदान केन्द्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । ५ सयभन्दा बढी मतदाता रहेको केन्द्रमा ६ जना र त्यसभन्दा कम रहेकामा ५ जनाका दरले तोकिएको उनले जानकारी दिए । मतदान सामग्री पनि सबै केन्द्र पुगिसकेको उनले जानकारी दिए । एक उपमहानगर, १२ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषाबाट ९ सय २९ जनप्रतिनिधि चुनिँदै छन् । मतदान केन्द्र पुगेका कर्मचारीले शुक्रबार मतदाता परिचयपत्र बाँडेर काम सुरु गरेको जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाले बताइन् ।

चुनावी सुरक्षाका लागि ४ हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मतपेटिका, मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि तयारी पूरा भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘मतदान केन्द्रभित्रको सुरक्षा नेपाल प्रहरीले हेर्नेछ,’ उनले भने, ‘मतदान केन्द्र आसपास र घेराबाहिरका गतिविधि सशस्त्र प्रहरीले नियन्त्रण गर्नेछ । नेपाली सेना रिजर्भ टोलीका रूपमा मतदान केन्द्र आसपास खटिनेछ ।’

सप्तरीका ९ नगर र ९ गाउँपालिकामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट खटिएका कर्मचारी बिहीबार साँझै ४ सय ६२ वटा मतदान केन्द्र पुगिसकेका छन् । शुक्रबार हरेक मतदान केन्द्रमा परिचयपत्र वितरण कार्य सुरु भएको छ । मतदाता उत्साहजनक रूपमा परिचयपत्र लिन आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए ।

प्रहरीले शुक्रबारदेखि जिल्लाका विभिन्न नगर र गाउँका सार्वजनिक स्थलमा लगाइएको तुल, ब्यानर र चुनाव चिह्न अंकित झन्डा हटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय अगाडिदेखि प्रजिअ भागीरथ पाण्डेको नेतृत्वमा आयोगका कर्मचारी र सुरक्षा निकायका प्रमुखसहितको टोलीले सार्वजनिक स्थानबाट प्रचार सामग्री हटाएको हो । यो काम शनिबार पनि निरन्तर रहने प्रजिअ पाण्डेले बताए ।

निर्वाचनकै लागि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सशस्त्र र नेपाल प्रहरी तथा नेपाली सेना गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डेले जनाए । ‘५ हजार सुरक्षाकर्मी परिचालित छन्, अझै सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘जिल्लाको शान्तिसुरक्षाको स्थिति राम्रो छ, ढुक्क भएर मतदान गर्न सबैमा अपिल गर्छु ।’ -आजको कान्तिपुर दैनिकमा उल्लेख छ |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !