१९ जेष्ठ २०८१, शनिबार

२० वर्षीया महिलाको हत्या अभियोगमा १७ वर्षीय किशोर पक्राउ


भदौ २८, भरतपुर । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर–२३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेलापरेको जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन ।

अभियुक्तले १८ ओटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजलाई म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ । त्यसैगरी, चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइ–फकाइ जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ । भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई सात र चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबर्जस्ती करणीको महलअन्तर्गत् अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा दिइएको जानकारीअनुसार प्रतिबन्धित लागुऔषध ओसार–पसारमा संलग्न नवलपुरको गैंडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरिएको छ । प्रहरीले महिलालाई होटलमा राखेर वेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापालाई भरतपुर बसपार्कबाट पक्राउ गरेको छ । निजले भरतपुर बसपार्कमा रहेको थापा गेस्टहाउसमा महिलालाई राखी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

२१ जना जुवाडे पक्राउ
चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जुवा, तास नियन्त्रण अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत् मंगलबार राति ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेस्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर १०० र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !