३० कार्तिक २०८१, शुक्रबार

इँटाभट्टाका मजदुर झ्याउलीमा भोकै, बालबालिकाको बिजोग


इँटा नष्ट

भक्तपुर, ५ वैशाख । इँटाभट्टामा काम गर्ने मजदुरहरु झ्याउलीमा भोकै पर्न थालेका छन् । विभिन्न भट्टाले गाउगाउँमा इँटा बनाउन तयार पारेका झ्याउली (मजदुर बस्ने टहरो) मा बसेका सयौं मजदुर परिवार यतिखेर भोकै बस्न बाध्य भएका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेपनि निर्वाध रुपमा चलेका इँटाभट्टामा काम गर्ने मजदुरलाई व्यवसायीले राहत एवं खाद्यान्न उपलब्ध नगराउँदा उनीहरु भोकै परेका हुन् । इँटाभट्टा व्यवसायीले माटो अभावका कारण भट्टा आसपासका क्षेत्रभन्दा पर ग्रामिण क्षेत्रमा जग्गा भाडामा लिएर खलो (इँटा बनाउने ठाउँ) बनाएर इँटा बनाई ट्रकमा राखेर भट्टामा ल्याएर पोल्ने गर्दै आएको छ ।

लकडाउनको समयमा झ्याउलीमा खाना पकाउने आगो बल्न छाडेको सात दिन भइस्क्यो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटा बनाउने खलोमा काम गर्ने रामेछापकी मञ्जु तामाङ्ग झ्याउलीमा आगो नबलेको पाँच दिन भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–“चिउँरा खाएर बसेको पाँच दिन भयो, त्यो पनि सकियो, बालबच्चा भोकै राख्न निकै गाह्रो भएको छ, साहुले हामीलाई रासन नदिदाँ भोकै बस्नु परेको हो ।” साहुलाई फोन गर्दा नाइकेलाई पैसा दिएका छौ, उहीसंग लिनु भन्ने जवाफ दिने गरेको तर नाइके सम्पर्क मै नआउने गर्दा भोकै बस्नु परेको उनीहरुको भनाइ छ ।

चाँगुनारायण–८ सुडालस्थित इँटा भट्टाको झ्याउलीमा बस्ने सन्तमान बिकको अबस्था उस्तै छ । तीन छोराछोरी र श्रीमतिसँगै साँघुरो झ्याउलीमा बस्दै आउनु भएका दाङ घोराहीका बिक परिवारले एकसातादेखि खाना खान पाएका छैनन् । आफ्नो मात्रै नभई यहाँका १० वटा झ्याउलीमा रहेका ४६ जनाको परिवार यतिखेर भोकै बस्नु परेको उहाँको गुनासो छ । अधिकांश इँटाभट्टाका झ्याउलीको अबस्था यस्तै छ । चिउँरा र चाउचाउ खाएर बसेको गुनासो गर्दै उहाँले आफूले काम गरेको पैसा र रासन ल्याईदिए भोकै बस्नु नपर्ने बताउनुहुन्छ ।

भक्तपुरमा सञ्चालित इँटाभट्टाले ताथली, सुडाल, वागेश्वरी, छालिङ्ग, दु्वाकोट, झौखेललगायत क्षेत्रमा खलो बनाई इँटा बनाउन हजारौं मजदुरलाई काममा लगाइएको छ । अहिले इँटा बनाउने काम सकियो, खानेकुरा पनि सकियो । ताथलीकै इँटाभट्टाको खलोमा इँटा बनाउने भकुण्डेबेशीँका रामप्रसाद कार्की इँटाभट्टाका मालिक र नाइकेले खान नदिएर मजदुरलाई भोकभोकै राखेको बताउनुहुन्छ । आफूले काम गरेको पैसा दिएर घर पठाउने व्यवस्था गरिदिए बाचिन्थ्यो भन्ने आशा जाग्न थालेको उहाँको भनाइ छ । कार्की भन्नुहुन्छ, “दुईसाता अघि नै घर जान खाजेका थियौ, इँटा चाङ्ग लाएर सुरक्षित नबनाएसम्म जान पाइन्न भनेर साहुले पठाएन, अहिले काम सकियो, घर जान पाइन्न, भोकै पर्यौ भन्दा राशनपनि दिदैन, नाइकेलाई पैसा पठाएका छौ भन्छन् तर नाइके कहाँ छ पत्तो छैन ।”

चाँगुनारायण नगरपालिकामा मात्रै ५६ वटा इँटाभट्टा रहेका छन् । यहाँका इँटा भट्टामा अझै १५ हजारभन्दा बढी मजदुर काममा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले इँटाभट्टाले निकै जोखिम बढाएको भन्दै बताउदै व्यवसायीले लकडाउनको शुरुमै भट्टा बन्द गरेर कामदारलाई घर पठाऊ भन्दा अटेर गरेकाले अहिले समस्या आएको बताउनुहुन्छ । भट्टा व्यवसायीले अहिले पनि भारतबाट कोइला ल्याउने र हजारांै मजदुरलाई पनि काममा लगाएर कोरोनाको उच्च जोखिमलाई बढाइरहेको उहाँ बताउनुहुन्छ ।

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाई ह्याम्बा भन्नुहुन्छ, “अहिलेपनि भक्तपुरका भट्टामा ११ हजारभन्दा बढी मजदुर काम गरिरहेका छन् । उनीहरु खान नपाएको आफूले पनि सुनेको र काम नभएका मजदुरलाई घर पठाउँछौ भन्दा जिल्ला प्रशासन कार्यालयले अनुमति नदिदाँ समस्या आएको छ ।”

हरेक शनिवार मजदुरलाई उनीहरुले काम गरेको ज्यालामा कट्टा हुनेगरि रासन वितरण गर्दै आएको र उनीहरुले पाउनु पर्ने पैसा नाइकेमार्फत पठाएको दाबी उहाँको छ । काम नभई भट्टामा रहेका मजदुरहरु भट्टी पसलमा जाँड खाने र सधै झगडा गर्न थालेपछि थप समस्या आएको उहाँको भनाइ छ । मजदुरलाई व्यवसायीले सधै पाल्न नसक्ने र राहत बाँड्न पनि नसक्ने बताउदै प्रशासनले गाडीको पास उपलब्ध गराए उनीहरुलाई घरसम्म पुर्याइदिने उहाँ बताउनुहुन्छ । भारतीय दूतावासले इँटाभट्टामा रहेका कामदारको लगत सङ्कलन गर्न थालेको बताउदै उहाँले भारतीय मजदुरको व्यवस्थापन भारतले गर्न खोजे पनि आफ्नै देशको मजदुरको व्यवस्थापन भने हुन नसकेको उहाँको भनाइ छ ।

मजदुरहरु भने नगरपालिकाले वितरण गरेको राहतपनि आफूहरुले नपाएको र इँटा व्यवसायीले पनि राहत नदिएको, नाइके पनि पैसा लिएर भाग्न थालेकाले भोकभोकै बस्नु परेको गुनासो गर्छन् । उनीहरुले घर जाने व्यवस्था गरिदिन माग गरेका छन् । सङ्घका अध्यक्ष ह्याम्बाले सरकारले उद्योग सञ्चालन गर्नुभनेकाले इँटा भट्टा सञ्चालन गरिरहेको दाबी गर्दै प्रहरीले कोइला बोकेका आठ गाडी नियन्त्रणमा लिएको र चाँगुनारायण नगरपालिकाले रु. २० हजारका दरले जरिवाना लिएकोमा आपत्ति जनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !