४ जेष्ठ २०८१, शुक्रबार

भारत–पाकिस्तानलाई नेपालीको दबाब


४ भदौं, काठमाडौं । भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।

हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ । जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो ।

यस्ता विषयको ध्यानाकर्षण गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका पाकिस्तानी समकक्षी इमरान खानलाई लेखिएको पत्र दूतावासलाई हस्तान्तरण गरिएको छ । सार्क राष्ट्रका नागरिकमा मित्रता बढाउन, शान्ति र अमनचयन कायम गर्न र सार्कलाई पूर्ववत् अवस्थामा सक्रिय गराउन ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !