भक्तपुर । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो ।
गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।
यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्ला लगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायले आजको दिनलाई क्वाँटी पुन्ही पनि भन्ने गरिन्छ ।
क्षेत्री बाहुनलगायतका समुदायले भने विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खाने गर्दछ । यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।
रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको छ ।
नेवार समुदायले आज विभिन्न कुण्डहरुमा गई स्नान गर्ने र विशेषगरी महादेवको दर्शन गर्ने र हातमा रक्षाबन्धनको प्रतीक डोरो लगाउने गर्दछ । नेवार समुदायले पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ ।
भ्यागुताको पूजा गर्दै किसान
श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन् ।
किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ । किसानहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारी लगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा ब्या“चा जाः नक वनेगु भनिन्छ ।