६ आश्विन २०८१, आइतबार

दोब्बर भाडा असुल्ने १२ टाटासुमो कारबाहीमा


tata-sumo

३ भदाै, बारा । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व र्इदको मौका छोपी काठामाडौंबाट घर फर्किने यात्रुसँग दोब्बर भाडा असुलेका टाटासुमोलाई पथलैयामा प्रहरीले कारबाही गरेको छ ।

यात्रुसँग दोब्बर भाडा असुल्ने १२ वटा सुमोलाई बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

दोब्बर भाडा असुलेको गुनासो आएपछि चेकजाँच गर्ने क्रममा दिउँसोसम्म १२ वटा सुमो नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । पर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने सुमोलाई नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बज्राचार्यको भनाइ छ ।

काठमाडौंबाट सिमराको भाडा पाँच सय रुपैयाँ रहे पनि सुमो काउन्टरले प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म असुल गरेको पाइएको उनले बताइन् । नियन्त्रणमा लिइएका सुमोलाई तीन हजारसम्म जरिवाना गराउने र सचेत गराएर छाडिने प्रहरीले जनाएको छ ।

कारबाहीमा परेका ना १ ज ६७६९, ३९१०, ५७४४, २१६६, ६२१६, १८८४, ६४७३, ३६१४, १७७०, ६४०४, १९५५ र २४४४ नम्बरका सुमो अहिले प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । उनीहरूमाथि थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाईने प्रमुख ट्राफिक प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !