७ पुस २०८१, आइतबार

पाँचपोखरीमा केबलकार निर्माणको पहल


केबलकार

१५ साउन, चौतारा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।

भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ ।

केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ । त्यसका लागि त्रिपक्षीय लगानीको आवश्यक पर्ने हुँदा एक घर एक शेयरको अनिवार्य व्यवस्था गरी गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनको लागि चालू आवमा प्रदेश नं ३ बाट रु ५० लाख छुट्याइएको छ ।

प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि विभिन्न केबलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि अभिरुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिनुभयो ।

हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य भेला लाग्ने पाँचपोखरीमा यसपालादेखि पोखरी क्षेत्रमै व्यवस्थितरुपमा साउन १ गतेदेखिनै तीन होटेल सञ्चालनमा आएको छ । अन्य अस्थायी टहरा पनि बनाइएको छ । यार्सा टिप्ने सिजनमा २५ र हाल २० जना विदेशी आठ आन्तरिक पर्यटक पाँचपोखरी पुग्ने गरेको बस्नेत बताउनु हुन्छ ।

पाँचपोखरी पुग्न काठमाडौँबाट मेलम्ची–तिपेनी हुँदै भोताङसम्म यात्रु बस सञ्चालनमा आएपछि वर्षाको समयमा तिपेनीसम्म मात्र यातायात सञ्चालनमा छ । त्यहाँदेखि भोताङसम्म र भोताङदेखि पाचँपोखरीसम्म भने झण्डै दुई दिनको उकालो हिँड्नु पर्दछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !