१० असार, विराटनगर । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ ।
हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो – सरकारले तत्काल बजेटमाथि पुनर्विचार गर्नुपर्छ ।
विराटनगर महानगरपालिकाले हाल आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित बजेट निर्माणको तयारी गरिरहेको छ ।
संघीय सरकारले विराटनगर महानगरपालिकालाई रु ७८ करोड २० लाख मात्र बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा वित्तीय समानीकरणतर्फ रु ३४ करोड २४ लाख र सःशर्त अनुदानतर्फ रु ४३ करोड ९६ लाख छ ।
जनताका न्यूनतम चाहना, योजना र विकासका पूर्वाधारहरु खडा गर्न सरकारले थप रु एक अर्ब तत्काल उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो – विराटनगरका सडक, खानेपानी, सरसफाई, विद्युतीकरण जस्ता पूर्वाधारको अवस्था नाजूक छ । बजेट कम भएपछि जनताका अपेक्षा कसरी पूरा गर्न सकिन्छ ?
सरकारले महानगरपालिकातर्फ सबैभन्दा धेरै बजेट पोखरा लेखनाथलाई र सबैभन्दा थोरै बजेट विराटनगरलाई छुट्याएको पाइएको छ । प्रदेश नं १ को राजधानी रहेको विराटनगर जनसम्पर्क, सञ्जाल, नेपाल–भारत व्यापार लगायतका दृष्टिले उच्च महत्व राख्ने स्थान हो ।
महानगर प्रमुख पराजुलीले भन्नुभयो– भरतपुर महानगरले रु एक अर्ब २३ करोड ९३ र प्रदेश राजधानी रहेको हेटौँडा उपमहानगरपालिकालाई विराटनगरको भन्दा बढी बजेट दिइएको छ । विराटनगर महानगरपालिकालाई सरकारले छुट्याएको बजेट लज्जाजनक र जनतालाई नै अपमानित गर्ने किसिमको छ ।
पश्चिममा केशल्या र पूर्वीतर्फ सिंगिया दुई ठूला नदी तथा मध्यभागमा बस्ताहा र दुधवा खोल्साले घेरिएको विराटनगर महानगरपालिकाको आन्तरिक वित्तीय अवस्था पनि निकै कमजोर छ ।
दिनप्रतिदिन शहरको जनघनत्व बढ्दै जानु, सडक र बिजुली विस्तार गर्दै सुशासन र सुरक्षाको पूर्ण प्रत्याभूति गराएर समृद्ध विराटनगर बनाउने हाम्रो संकल्पलाई केन्द्र सरकार र प्रदेश सरकारले पनि उच्च प्राथमिकतामा राखेर थप बजेटको व्यवस्था गर्न प्रमुख पराजुलीले आग्रह गर्नुभयो । (रासस)