१८ जेठ, काठमाडौँ । सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।
जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी हुनुभएको थियो । अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन ।
गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहर नदी किनारस्थित बसपार्कमा थुपारिएको थियो । नगरपालिकाले फोहर उठाउने भनिए पनि एक हप्तासम्म त्यही थुपारिँदा बसले किचेको छ । तर अध्यक्ष बस्नेतले भने गाकर्णेश्वर नगरपालिकाले फोहर उठाउने प्रतिबद्धता जनाएको बताउनुहुन्छ ।
नगर उपप्रमुख शान्ति नेपाल फोहर लैजाने सवारी बिग्रिएकाले फोहर उठ्न नसकेको बताउनुहुन्छ ।
वाग्मती सफाइ महाअभियानले पाँच वर्ष पूरा गरेको अवसरमा समीक्षा गरेको छ । महाअभियानबाट प्रभावित भई हाल देशभर ९४ स्थानमा सफाइ अभियान चलिरहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
नेपाल सफा नभएसम्म यो अभियान चलाइरहने निर्णय गरिएको छ । सरकारले हाम्रो अभियानकर्मीको भावनालाई कदर गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ लाई राष्ट्रिय सरसफाइ अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकामा महाअभियानले धन्यवाद ज्ञापन गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडा संघीय संसद्मा जेठ १५ गते पेश गर्नुभएको बजेट वक्तव्यमा आगामी तीन वर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच पु¥याउने र शहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिक स्थानमा सुविधासम्पन्न स्मार्ट शौचालय निर्माण गर्ने उल्लेख गरेको छ । (रासस)