१३ जेष्ठ २०८१, आइतबार

राज्यमन्त्री बाँस्कोटाद्वारा पत्रकारिता दिवसमा शुभकामना व्यक्त


Gokul

राज्यमन्त्री बाँस्कोटाद्वारा पत्रकारिता दिवसमा शुभकामना
२४ वैशाख, काठमाण्डाै। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तेस्रो राष्ट्रिय पत्रकारिता दिवस– २०७५ का अवसरमा सम्पूर्ण प्रेसजगत्, आमसञ्चारकर्मी तथा आमसञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज दिनुभएको एक सन्देशमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

सन्देशमा उहाँले संविधानप्रदत्त प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राज्यमन्त्री बाँस्कोटाले संविधानमा व्यवस्था गरिएअनुसार मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख दिशामा मुलुकलाई अगाडि बढाउन देशले आर्थिक विकास र समृद्धि हाँसिल गर्नैपर्ने भएकाले यसमा आमसञ्चार र प्रेस जगत्को सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रेस जगत्ले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगत्लाई आह्वान पनि गर्नुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु