१७ जेष्ठ २०८१, बिहिबार

एसएसपी लोहनीद्वारा पत्रकारमाथि दुर्व्यवहार


२० वैशाख, माेरङ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् ।

बुुधबार जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका हुन् । लोहनीले पत्रकारहरू सुमन तिमल्सिना र ध्रुव भट्टराईमाथि फोटो खिचेको भन्दै लात्ती प्रहार गरेका हुन् ।

तथानाम गाली र अपशब्द प्रयोग गर्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका थिए । ‘मेरो फोटो खिच्छस्’ भन्दै उनले पत्रकारमाथि लात्ती प्रहार गरेका थिए । पत्रकारकाे  क्यामेरा ताक्दै उनले दुई पटकसम्म आक्रमण गरेका हुन् । दाेस्राे पटककाे अाक्रमण प्रयासमा तिमल्सिनाले भागेर अाफूलाई जाेगाएका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई बुधबार मोरङ प्रहरीले पक्राउ गरेको थियाे ।

साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।

सुन तस्करीमा संलग्न तथा हत्याको आरोपमा अनुसन्धानमा तानिएका प्रहरीहरुमा पूर्व डिआईजी गोबिन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्का रहेका छन् ।

प्रहरी हिरासतमा रहेका उनीहरुलाई सुन तस्करी सहयोगी तथा संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको छ ।
उनीहरु स्वयम सुन ल्याउनमा संलग्न भन्दा पनि तस्करीलाई बढावा दिनको लागि सहयोगीको काम गरेको भन्न्दै मुद्दा चलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !