११ बैशाख २०८१, मंगलबार

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, दुई आरोपित पक्राउ


आगो लगाएर एकल महिलाको हत्या

दार्चुला । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमान्को सात वर्ष अघि मृत्यु भइसकेको छ ।

खडायतका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा जानुभएको छ । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !